६ भदौं

काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारी गरेको छ। सरकारले १० महिनाअघि नेपालमा टिकटकमाथि प्रतिवन्ध लगाएको थियो । टिकटकले हालै नेपाल सरकारका सबै प्रकारका नीति–नियमहरू पालना गर्ने प्रतिवद्धतासहितको पत्र पठाएपछि सरकारले टिकटकमाथिको प्रतिवन्ध हटाउने संकेत दिएको हो ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालय स्रोतका अनुसार चार दिनअघि टिकटकले इमेलमार्फत आफ्नो प्रतिवद्धता पत्र पठाएको थियो । उक्त पत्रमा टिकटकको एसियाका पोलिसी डिभिजन चिफ फेरसको हस्ताक्षर भएको बताइन्छ ।

पत्रमा टिकटकले आफू नेपाल सरकारका सबै ऐन–कानून पालना गर्न तयार भएको उल्लेख गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली टिकटक प्रतिबन्ध खोल्नेबारे आवश्यक गृहकार्य गर्न अधिकारीहरुलाई निर्देशन दिएका छन्। अहिले सामाजिक सञ्जालमा कुनै कुनै किसिमको प्रतिबन्ध लगाउन नहुने भन्दै उनले सञ्चार मन्त्रालय र आफ्नो टिमलाई टिकटकको प्रतिवद्धताबारे छलफल गरेर आवश्यक प्रस्ताव मन्त्रिपरिषदमा ल्याउन भनेको स्रोतको दाबी छ।