८ वैशाख
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल आफू कसैको दास बन्ने व्यक्ति नभएको बताएका छन् । गृह जिल्ला रौतहटमा रहेका नेपालले आफूहरूलाई कसैले कमजोर ठान्ने कुचेष्टा गरे देशमा फेरि अर्को उथलपुथल गर्न बेर नलगाउने चेतावनी दिए ।
आफू देशका ठुला हस्ती राजा वीरेन्द्रदेखि ज्ञानेन्द्र, गणेशमान, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालादेखि प्रचण्डसम्मलाई सामना गरेर आएको नेता भएकोले आफू र आफ्ना पार्टीलाई कसैले कमजोर नठान्न नेता नेपालको चेतावनी दिएका हुन् ।
गृह जिल्ला रौतहटको गौर नगरपालिका–२ महादेवपट्टि स्थित लालबकैया नदीमा नवनिर्मित मधेस प्रदेशकै सबभन्दा दोस्रो लामो झोलुङ्गे पुलको उद्घाटन गर्न अध्यक्ष माधव नेपालले त्यता गएका थिए । त्यस क्रममा उनले पूर्व प्रधानमन्त्री नेपालले आफूहरूको आफ्नै स्वाभिमान, पहिचान, मूल्यमान्यता र महत्त्व रहेकोले हल्कामा नलिन सुझाव दिए ।
वर्तमान चार दलीय सत्ता गठबन्धनलाई लक्षित गर्दै उनले भने, ‘हामी कसैको दास होइनौ र कसैको इशारामा चल्ने व्यक्ति पनि होइनौ । त्यसैले यदि हाम्रो पार्टीको भूमिकालाई कसैले अवमूल्यन वा बेवास्ता गर्यो भने उसलाई ठुलो मूल्य चुकाउनुपर्छ ।’ नेता नेपालले अघि थपे, ‘हाम्रो आफ्नै स्वाभिमान र महत्त्व छ, त्यसैले यो कुरा बुझ्यो भने ठिक छ नत्र सबै उल्टिन्छ र देशमा अर्को उथलपुथल हुन्छ ।’









