२ फागुन

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रमुख एआइजी किरण बज्राचार्यलाई विभागीय कारबाहीको तयारी गरिएको छ।

सुन तस्करी प्रकरणको अनुसन्धानमा जाँचबुझ आयोगले त्रुटि औंल्याएपछि उनलाई केन्द्रीय अनुसन्धान ब्युरो प्रमुखबाट हटाउने तयारी भएको प्रहरीका एक उच्च अधिकारीले जानकारी दिए।

थप कारबाही चाहिँ गृह मन्त्रालयले मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव लैजानुपर्ने हुनाले तत्कालका लागि सिआइबी प्रमुखबाट हटाउने तयारी भएको ती अधिकारीले बताए। सुन तस्करीसम्बन्धी अनुसन्धानमा गम्भीर त्रुटि देखिएको भन्दै आयोगले बज्राचार्यलाई कारबाहीको सिफारिस गरेको छ। माघ १७ गते जाँचबुझ आयोगले बज्राचार्यलाई सोधपुछको लागि बोलाएको थियो।

बज्राचार्यलाई विभागीय कारबाहीका लागि निर्देशन दिइएको गृह मन्त्रालय स्रोतले पनि जानकारी दियो। उनका अनुसार गृह मन्त्री रवि लामिछानेले शुक्रबार बिहान गृहसचिव, आइजिपीसहितका अधिकारीहरूलाई बोलाएर एआइजी बज्राचार्यलाई कारबाही गर्न निर्देशन दिएका थिए।

एआइजी बज्राचार्यलाई विभागीय कारबाही गर्न सुझाइएको प्रतिवेदन गृहमन्त्री रवि लामिछानेले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएका थिए। त्यसक्रममा प्रधानमन्त्री प्रचण्डले प्रतिवेदनले औंल्याएका विषयमा कारबाही प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका थिए।

लगत्तै गृहमन्त्री लामिछानेले गृहसचिव र प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई मन्त्रालयमा बैठक बोलाएर एआइजी बज्राचार्यमाथि विभागीय कारबाही गर्न निर्देशन दिएका हुन्।