२४ फागुन
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएका अभिव्यक्तिमाथि जवाफ माग गरेको छ।
फागुन २१ गते काठमाडौंमा भएको एक कार्यक्रममा प्रधानमन्त्री दाहालले ‘प्रतिक्रियावादीहरूले उपयोग गर्न खोजे लात्ताले हानेर निस्कने’ अभिव्यक्ति दिएका थिए।
उक्त अभिव्यक्ति प्रधानमन्त्रीले किन दिएको भन्ने विषयमा कांग्रेसले बिहीबारको प्रतिनिधि सभा बैठकमा जवाफ माग गरेको छ। प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले लात्ताले हान्ने कुरा सिकाएको बताए।
‘…लाई कहिले किन लात्ताले हान्छु भन्नुभयो, देशको प्रधानमन्त्रीका लागि यो शब्द शोभनीय होइन,’ उनले भने, ‘लात्ताले हान्ने, कसले प्रधानमन्त्रीले? कसलाई, किन, कसरी हान्ने? म त्यो देशको सांसद भएको छु जसको प्रधानमन्त्रीले मलाई लात्ताले हान्ने कुरा सिकाउँदै हुनुहुन्छ।
उनले सभामुखमार्फत् प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउँदै यो अभिव्यक्तिमाथि कांग्रेसलाई जवाफ चाहिएको बताए।‘प्रधानमन्त्रीले लात्ताले हान्ने कुरा बोल्न मिल्छ कि मिल्दैन। अनि प्रधानमन्त्रीले लात्ताले हान्ने कुरा बोलेपछि हामीले चुप लागेर सुनेर सुनिदिनुपर्ने हुन्छ कि हुन्न। चित्तबुझ्दो जवाफ नदिएमा धेरै राम्रो मानिस र पुरानो दोस्ती भनेर निर्णय गरौंला तर हामीलाई जवाफ चाहिन्छ,’ उनले भने।
उनले गठबन्धन फेरिराख्ने र आफू प्रधानमन्त्री पदमा रहिराख्ने कुरा उथलपुथल नभएको पनि बताए।









