
२० कार्तिक
पोखरा-मुग्लिन सडक खण्ड अन्तर्गत पूर्वतर्फ कालोपत्रेको काम सुरु भएको छ । डुम्रेदेखि छिर्कने भन्ज्याङसम्म पहिलो चरणमा पिच गर्न लागिएको हो । आइतबारदेखि कालोपत्रे सुरु भएको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । ३ किलोमिटर सडक तिहार अघि नै कालोपत्रे सम्पन्न गर्ने योजना छ ।
आँबु खैरेनीदेखि पोखरासम्मको करिब ८२ किलोमिटर सडक खण्डलाई २ वटा ठेक्का लगाएर स्तरोन्नति गर्न लागिएको हो । पूर्वी खण्ड आँवुखैरेनीदेखि जामुनेसम्म छ भने दोस्रो खण्ड जामुनेदेखि पोखरासम्म छ । दोस्रो खण्डभन्दा पहिलो खण्डमा काम तीव्र रुपमा भैरहेकाे छ ।
उनले तिहार लगत्तै डुम्रेको नालापुलदेखि छिर्कनसम्मको सडक पिच गरेर आँबुखैरेनी क्षेत्रमा जाने बताए । हाल ४ मध्ये २ लेनमा पिच गर्ने काम भइरहेको छ । पूर्वी खण्ड ४१.४५ किलोमिटर छ । २०८१ वैशाखसम्म काम सक्नेगरी ठेक्का सम्झौता भएकोमा तोकिएको म्यादभित्र काम सम्पन्न हुने सम्भावना निकै कम छ । २०७७ माघ १७ गते चाइना कम्युनिकेसन कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरिएको हो । यसको लागत ६ अर्ब २१ करोड ३१ लाख छ ।
एसियाली विकास वैंकको २१ अर्ब ५० करोड सहुलियत ऋण सहयोगमा सडक स्तरोन्नति गर्न लागिएको हो । पश्चिम खण्डको काम भने निकै सुस्ताएको छ । यो सडक २५ मिटर फराकिलो हुनेछ भने सहरी क्षेत्रमा ४१ मिटर हुनेछ ।








