२९ भदौ
पर्वत । जिल्लाको ठुलो नगरपालिका कुश्मा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी विष्णुप्रसाद तिवारीले सम्हालेका छन् । आजै नगर प्रमुख रामचन्द्र जोशी र उप प्रमुख स्वस्थानी रिजालले सफल कार्यकालका लागी शुभकामना दिदै पदवहाली गराएका हुन् । तिवारीले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाले संगै नगरसभा हुने कुरामा जनप्रतिनिधिहरु विश्वस्त रहेका छन् । नगरपालिकाकै शिक्षा शाखा प्रमुख रहेका तिवारीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी प्रदान गरेको हो । उनि संग जिल्ला शिक्षा अधिकारीको रुपमा कार्य गरेको लामो अनुभव समेत रहेको छ । कुश्मा नगरपालिकामा धेरै वर्ष शिक्षा शाखा प्रमुखको रुपमा कार्य गरेकाले पनि नगरका समस्याहरुको वारेमा तिवारी जानकार रहेका छन् ।

असार १० गते हुनुपर्ने नगर सभा जनप्रतिनिधिहरु वीचको विवादका कारण हुन सकेको छैन । नगरपालिकामा पछिल्लो समय प्रमुख प्रशासकीय अधिकृत विहिन बनेको थियो । नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत चण्डिाका पौडेलको सरुवा भए देखि भदौ १० गते पछि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको अभाव थियो ।
देशभरका सवै नगरपालिकाहरुले नगर सभा गरे पनि अहिलेसम्म कुश्मा नगरपालिकामा नगर सभा हुन सकेको छैन । प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तिवारीले लिएसंगै अव नगर सभा हुने अपेक्षा नगरबासीले गरेका छन् । नगर पालिकाको नगर सभा नहुँदा विकास आयोजना मात्र होइन दैनिक प्रशासनीक कामहरु समेत प्रभावित बनेका छन् ।









