२६ साउन
पोखराको फेवा पावरहाउस स्टेशन नजिकै फुस्रे खोलामा पौडी खेल्ने क्रममा ज्यान जाने गरेकाे खबर नौलो होइन । गत ६ साउनमा एक किशोरको ज्यान गएको घटना ताजै रहँदा फेरि अर्का बालकको नजिकै छाङ्गोमा खसेर मृत्यु भएको छ ।
विहीबार मध्यान्ह पावर हाउस माथि भीरको छाङ्गोमा खसेर पोखरा १७ घारीपाटन निवासी डिल्लीराम अधिकारीका कान्छो छोरा सम्बोधन अधिकारीको ज्यान गएको हो ।
यही वर्ष मात्र चार महिनाको अवधिमा पावरहाउस वरपर तीन जनाको ज्यान गइसकेको छ । पोखरा महानगरपालिका १७ स्थित फेवा पावरहाउस नजिकैकाे फुस्रेखाेला मात्र हाेइन, छाँगाे पनि उत्तिकै खतरापूर्ण छ । पावर हाउसको नहर नजिकै वर्षा याममा अर्को नहर बन्छ । हिँउदमा सुरूङ जस्ताे खाडल वर्षामा पानीले भरिन्छ । फेवा नहरबाट बढी भएको पानी झर्ने छाँगोसँगै यही पानीले अर्काे ठूलो झरनाजस्तै छाँगो बन्छ । १० वर्षीय सम्बोधन अन्य साथीहरुसँगै यही छाँगोमाथि पानी जमेकाे रहमा नुहाएका थिए ।
मध्यान्ह करिब १२ बजेको समयमा एक्कासी डुबेर बेपत्ता भएका उनलाई खोजी गर्ने क्रममा १ घण्टापछि भीरमा छाँगोमै अड्किएको अवस्थामा मृत फेला पारिएको थियो । बालक बेपत्ता भएको खबर लगत्तै उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोरसहितको उद्धार टोली उक्त स्थानमा खटिएको थियो । खोजी गर्ने क्रममा झन्डै एक घण्टापछि सवा एक बजे सशस्त्र प्रहरी जवान सन्तबहादुर लामिछाने र देवराज खनालको टोलीले बालकलाई छाँगोभित्र कोप्चेरोमा घोप्टो परेको अवस्थामा मृत फेला पारेको हो । बालकको शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको छ ।









