२७ चैत
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेकपा एमालेका सचिव लेखराज भट्टलाई भेटेका छन् । आइतबार दिउँसो प्रचण्ड भट्ट निवास धनगढी पुगेर उनलाई भेटेका हुन् ।
‘यो घरसँग मेरो ४० वर्षदेखिको सम्बन्ध छ । यहाँमाथि एउटा म बस्ने कोठा छ । जहाँ मैले खाने बस्ने गर्थे । त्यसैले यो घर मेरोपनि हो भन्ने लागेर यहाँ आएको हो’ भेटपछि प्रचण्डले भने, ‘बाँकी कुरा लेखराज जी राजनीतिक व्यक्तित्व भएकाले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने भइहाल्यो ।’
तर, प्रचण्डले भने जस्तो सामान्य रूपमा याद आएर उनले भेटेका होइन । शनिबार बेलुका प्रचण्डले लेखराजसँग फोनमा कुराकानी समेत गरेको सुदूरपश्चिम प्रदेशका एक माओवादी नेताले बताए । प्रचण्ड लेखराजबीच फोन सम्पर्क भएपछि आइतबार उनको निवास पुगेका हुन् ।
माओवादी सुदूरपश्चिम इन्चार्ज खगराज भट्टबाट पार्टी बलियो हुन नसकेपछि लेखराजसँग संवाद अघि बढाएको ती नेताले बताए । ‘हामीले धेरै कुरा बाहिर भन्न मिल्दैन । बाहिरभन्दा धेरै कुरा बिग्रन्छ’ ती नेताले भने, ‘सबै कुरा मिल्दै गएमा लेखराज जीसहित अरू साथीहरू एक ठाउँमा आउने स्थिति बन्नसक्छ ।’
तर, सबै संवाद परिपक्व भई नसकेकाले खोल्न नमिल्ने ती नेताले बताए । माओवादीबाट एमाले प्रवेश गरेका अधिकांश नेता कार्यकार्यकर्ता सन्तुष्ट छैनन् । पछिल्लो समय जनयुद्धलाई घृणा गर्नेगरी एमाले अध्यक्ष केपी ओलीले हिंसा रूपमा व्याख्या गर्न थालेपछि पूर्व माओवादी नेताहरू चिढिएका छन् । एमालेमा पूर्व माओवादीको स्थान समेत नभएर खुम्चिँदै गएपछि कमजोर भएका छन् ।









