२५ चैत
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) फुटपाथ मिचेर प्रहरी बिट बनाएको भन्दै आक्रोशित भएका छन् । फोहरको विषयलाई लिएर बिहान बिहानै आक्रोशित मुडमा आएका मेयर बालेनले त्यसपछि सरकारमाथि आक्रोश पोखेका थिए ।
तेस्रो चरणमा आएर उनले प्रहरीमाथि आक्रोश पोखेका हुन् । महानगरपालिकाभित्र फुटपाथ मिचेर बनाइएको भन्दै प्रहरी बिटहरुको तस्बिर पनि उनले सार्वजनिक गरेका छन् ।
‘फुटपाथ सँधै मान्छे हिँड्नका लागि प्रयोग हुनु पर्छ भनेर हामीले फुटपाथमा व्यापार गर्न रोकेका छौँ । यो नियम सर्वसाधारणका लागि मात्रै होइन । सबैका लागि हो र हुनुपर्छ’, उनले फेसबुकमा लेखेका छन्, ‘कानून कार्यान्वयन गर्ने नेपाल प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाउँछ भने त्यो गलत हुन्छ । त्यो संरचना प्रहरी आफैले हटाउनुहोला, नत्र समतामुलक कानूनको प्रयोगको लागि पनि हामी ती संरचना हटाउन बाध्य हुनेछौँ ।
मेयर बालेनले फुटपाथ मिचेर संरचना बनाएको भन्दै विभिन्न देशका राजदूतावासलाई पनि पत्राचार गरेको जनाएका छन् । ‘राजदूतावास लगायत विदेशी नियोगका हकमा पनि हामीले सम्बन्धित मन्त्रालयलाई काम अगाडि बढाइदिन पत्राचार गरिसकेका छौँ,’ उनले भनेका छन्, ‘कानून सर्वसाधारण नागरिकका लागि र अरुका लागि अलग्गै हुन्न भन्ने तथ्य स्थापित गर्न हामी तयार हुनु पर्छ । तयार बनौँ ।









