२५ फागुन
टिपरको ठक्करबाट काठमाडौंमा २ जनाको मृत्यु भएको छ। गए राति काठमाडौँको शङ्खरापुर नगरपालिका साँखुस्थित इन्द्रायणीमा टिपरको ठक्करबाट पत्रकार पवनलाल श्रेष्ठ र शंखरापुर नगरपालिका ७ साँखुका स्थानीय ५० वर्षीय हरि खड्काको मृत्यु भएको हो।
साँखु–जोरपाटी सडकखण्डमा साँखुबाट ब्रह्मखेल जाँदै गरेको बा ५ ख २४१४ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको बा ९४ प ४४९८ र बा८२ प ८३५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका पत्रकार श्रेष्ठको नेपाल मेडिकल कलेज अत्तरखेलमा तथा खड्काको शङ्करापुर अस्पताल साँखुमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले बताए।
दुर्घटनामा २० वर्षीया पुनम श्रेष्ठ घाइते भएकी छिन्। उनको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको प्रवक्ता रिजालले बताए।
मृतक श्रेष्ठ साँखुबाट प्रकाशित लावण्य सन्देश साप्ताहिकका प्रधानसम्पादक थिए। दुर्घटनापछि फरार टिपर चालक २६ वर्षीय दिनेश तामाङलाई प्रहरीले राति नै सिन्धुपाल्चोकबाट पक्राउ गरी काठमाडौँ ल्याएको छ।
घटनाबारे प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको प्रवक्ता रिजालले बताए। सेतोपाटीवाट









