३० पुस

पोखरा। राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने थुनामुक्त भएका छन् । उच्च अदालत, पाटनले बिहीबार धरौटीमा छाड्ने आदेश दिएपछि सन्दीप आज शुक्रबार धरौटी बुझाएर रिहा भएका हुन् ।

पूर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेश बदर गर्दै न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले बिहीबार सन्दीपलाई २० लाख धरौटी माग दाबीसहित रिहाइ गर्न आदेश दिएको थियो ।

अदालती प्रक्रिया पूरा गरेर उनी रिहा भएका हुन् । लामिछाने धरौटीमा रिहाइ भएपनि अदालतको अनुमतिबिना विदेश जान, सामाजिक सञ्जालमा प्रतिक्रिया दिन, काठमाडौं छाड्न रोक लगाइएको छ । तर उनलाई काममा फर्किन भने कुनै रोक लागाइएको छैन ।

लामिछानेविरुद्ध एक नाबालिकमाथि जबरजस्ती करणीसम्बन्धी कसूरमा प्रहरीसमक्ष किटानी दर्ता भएपछि उनी असोज २० गते त्रिभुवन विमान स्थलबाट पक्राउ परेका थिए ।