९ कार्तिक काठमाडौं : आगामी तीन वर्षका लागि ८६ हजार कर्मचारीको नेतृत्व सम्हाल्न आइपुगेका मुख्यसचिव लोकदर्शन रेग्मीले निजामती सेवालाई रोलमोडलको रूपमा स्थापित गराउने लक्ष्यसहितको सातबुँदे ‘फ्रेमवर्क’ तयार पारेका छन्। कर्मचारीवर्गलाई देश र जनताप्रति उत्तरदायी बनाई आर्थिक र सामाजिक रूपान्तरणमार्फत मुलुकमा समृद्धि हासिल गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार पदभार ग्रहण गरेपछि मुख्यसचिव रेग्मीले निजामती सेवालाई सक्षम र प्रभावकारी बनाउन फेमवर्क तयार पारेको दाबी गरे।
आर्थिक-सामाजिक रूपान्तरणका लागि निजामती सेवालाई भरमग्दुर परिचालन गरेर मुलुकलाई समृद्धिको मार्गमा लैजाने आफ्नो प्रमुख योजना रहेको उनले बताए। ‘आर्थिक समृद्धि अब ८६ हजार निजामती कर्मचारीको सपना र प्रतिबद्धता बन्नुपर्छ भन्ने मेरो आग्रह हो’, उनले आफ्नो सातबुँदे फेमवर्क सुनाउँदै भने। ‘जसरी माहुरीहरू गोलबद्ध भएर काम गर्छन् र सबैलाई उपयोगी हुने मह उत्पादन गर्छन्, त्यसरी नै निजामती कर्मचारीलाई पनि गोलबद्ध बनाएर माहुरीजसरी नै काम गराई राष्ट्रसेवामा समर्पित गराउने कार्यमा लाग्नेछु’, उनले थपे।
मुख्यसचिव रेग्मीले कुनै पनि देशको सभ्यता मापन त्यस देशको निजामती सेवाको कार्यशैलीबाट गरिने भएकाले कर्मचारीलाई सभ्य र विकसित बनाउनु प्रमुख कार्यभार भएको बताए। ‘सिभिल सर्भिस लाइज एट द हर्ट अफ ह्युमन सिभिलाइजेसन’, उनले भने, ‘निजामती सेवाले जति सभ्यता प्रदर्शन गर्न सक्छ, त्यति नै त्यो देश सभ्य हुने भएकाले निजामती सेवालाई सभ्य बनाई समग्र देशलाई नै सभ्यताले युक्त बनाउने मेरो थप प्रयास हुनेछ।’
कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका तथा अन्य संवैधानिक अंग र आयोगबीच समन्वय गर्ने र आपसी सौहार्दपूर्ण वातावरण सिर्जना गर्ने कार्यमा सक्दो पहल गर्ने उनको प्रतिबद्धता छ। हरेक कर्मचारीसँग कार्यसम्पादन करार गर्ने र सेवाप्रवाहप्रति जिम्मेवार बनाउने कार्यलाई सशक्त रूपमा लागू गरिने रेग्मीले जनाए। कामका आधारमा पुरस्कृत र दण्डित गर्ने परम्परालाई कडाइसाथ पालना गर्ने उनले बताए।








