१९ कार्तिक

काठमाडौं ।  व्यवसायीहरूले शुक्रबार काठमाडौंको माइतीघरमा बैंक तथा वित्तीय संस्थाहरूविरुद्ध एक घण्टा अन्दोलन गरेका छन्।

बैंकहरूले कर्जाको ब्याजदर शतप्रतिशत बढाएको, सेवा शुल्कमा दोब्बरले वृद्धि भएको, राष्ट्र बैंकले कोरोना कालमा दिएका सुविधा हटाइएसँगै तरलता अभाव भएको र यसले थप ऋण जारी हुन छाडेको भन्दै व्यवसायीहरूले आन्दोलन गरेका हुन्।

आन्दोलनमा उद्योगीहरूका संगठनदेखि बैंक तथा वित्तीय संस्थामा सञ्चालक नै रहेका व्यवसायीहरू समेत सामेल थिए।

बैंकहरूले जोखिम हेरेर आधारदरमा २, ३ प्रतिशत मात्र प्रिमियम थपेर ब्याजदर लिनुपर्नेमा ८ प्रतिशतसम्म प्रिमियम लिइएको भन्दै व्यवसायीहरूले यसको पनि विरोध गरेका छन्।

बैंकहरूले यसअघि निःशुल्क लिदैँ आएका सेवाहरूमा समेत सेवा शुल्क लगाइएको, निक्षेपको ब्याजदर बढाइएपनि प्रणालीमा पुँजी नथपिएको र बैंक तथा व्यवसायी दुवैको लागतमा मात्र वृद्धि भइरहेको भन्दै व्यवसायीहरूले यो समस्या समाधान गर्न भनेका छन्।

व्यवसायीहरूका अनुसार यसरी ब्याजदरमा भएको वृद्धिको कारण उद्योगहरूको ४० देखि ५० प्रतिशत उत्पादनमा कमी आएको छ।

केही व्यवसायीहरू पलायनकै अवस्थामा रहेको समेत आन्दोलनमा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।