८ असार
पवत । नेपाली कांग्रेस पर्वतले स्थानिय तह निर्वाचनमा विजयी भएका प्रमुख तथा वडा अध्यक्षहरुलाई वधाई तथा शुभकामना व्यक्त गरेको छ । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा आरजु राणा देउवाले आगामी प्रदेश र प्रतिनिधीसभाको निर्वाचनमा नेपाली काँग्रेस अत्यधिक मतका साथ विजयी हुने दावी गरेकी छन् । देउवाले नेपाली काँग्रेसले विजयी प्राप्त नगर्दा देश पछाडी परेको कुरा जनताले बुझेकाले काँग्रेस लाई अवको निर्वाचनमा अत्यधिक मत दिएर विजयी गराउनेमा विश्वास व्यक्त गरेकी छन् ।

काँग्रेसको हातमा सत्ता आउँदा देशका धेरै समस्या हल भएको उदाहरण दिँदै मुलुकको विकास र जनताको सर्बोच्चताका लागि काँग्रेस आवश्यक रहेको दाबी गरिन । निर्वाचित जनप्रतिनिधीहरुलाई जनअपेक्षा अनुसारका काम गर्न देउवाले सुझाव दिइन । चुनावमा टिकट पाउनु र नपाउनु प्राविधिक कुरा भएको बताउँदै देउवाले टिकट पाएर जितेका प्रतिनिधीलाई पार्टीका सबै तहका नेता कार्यकर्ताहरुले सहयोग गर्नुपर्ने धारणा राखिन । उनले सरकारी प्रणाली र काम गर्ने प्रक्रियामा झन्झट हुँदा बिकासका काममा ढिलाइ हुने गरेको पनि बताइन । सरकारको काम कहिले जाला घाम भन्ने उखान जस्तै हाम्रो प्रणाली कमजोर रहेको भन्दै यसमा सुधारको खाँचो औलाइन । नेपालमा सरकारी काममा हुने गरेको ढिलाइ हाम्रो पुरातन प्रणालीकै कारण भैरहेको देउवाको भनाई छ ।

पूर्व केन्द्रिय सदस्य एवं संविधानसभाका सदस्य अर्जुनप्रसाद जोशीले एकले अर्कोलाई आलोचना गर्ने कुराले कहिल्यै नेता बन्न नसकिने बताए । जनप्रतिनिधीहरु लाई असल काम गरेर देखाउन पनि उनले सुझाव दिए । जीवन्त पार्टीमा छलफल र वहष हुने भएपनि एकले अर्कोलाई हिलो छयाप्ने तरिका अपनाउन नहुने जोशीको भनाई छ । उनले जनप्रतिनिधीहरुलाई जनताको बिचमा पुग्न र उनीहरुका कुरा सुन्न आग्रह गरे । नेता जोशीले पार्टीका उम्मेदवार लाई असहयोग गर्ने र अवरोध गर्ने नेताले आत्मासमिक्षा गर्नुको बिकल्प नरहेको बताए ।
कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेशका सहमहामन्त्री एवं कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले जनप्रतिनिधीहरुले पार्टीको सल्लाह अनुसार काम गरेको भन्दै बेलाबेलामा जनप्रतिनिधीहरुलाई पार्टीको निर्देशन नमानेको आरोप आउँदा दुख लागेको बताए । पार्टीको निर्देशन अनुसार जनप्रतिनिधीहरुले काम गर्दै आएको जोशीले दाबी गरे । कार्यक्रममा नेपाली काँग्रेसका पूर्व सभापतिहरु खिमप्रसाद भुसाल र नवराज गुरुङ, पूर्व साँसद ऋषिकेश तिवारी, तरुण दलका केन्द्रिय अध्यक्ष बिद्धान गुरुङ, गण्डकी प्रदेशसभा सदस्य ललितकला गुरुङ, गण्डकी प्रदेशका सचेतक ओमकला गौतम, गण्डकी प्रदेश सदस्य यामबहादुर मल्ल,जिल्ला सचिव अशोक उचै ठकुरी, महाधिबेशन प्रतिनिधि मुना भुसाल,महाधिवेशन प्रतिनिधि राधाकुमारी कुवर क्षेत्री, फलेवासका मेयर गङगाधर तिवारी, जलजलाका अध्यक्ष राजु आचार्य, पैयुँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरी, विहादीका अध्यक्ष परविन गुरुङ, प्रदेश क का सभापति राजकुमार क्षेत्री, पैयुँका सभापति डम्बर प्रधान, पैयुँ ७ का वडाध्यक्ष तोयानाथ भुसाल, मोदी ६ का वडाध्यक्ष दिपेन्द्र जंग लामिछाने, नेविसंघका जिल्ला अध्यक्ष सन्तोष पाठकले शुभकामना मन्तव्य राखेका थिए ।

नेपाली काँग्रेसका जिल्ला सभापति यूवराज जोशीको सभापतित्व, उपसभापति शिवप्रसाद सुबेदिको स्वागत तथा जिल्ला सचिव गुप्तनिधी शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।