२ असार

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी-मुग्लिन सडकखण्डमा पुलबाट टिपर खोलामा खस्दा एक जनाको मृत्यु भएको छ।

मर्स्याङ्दी जलविद्युतको पावर हाउस नजिकै पुलबाट टिपर आज बिहान खोलामा खसेको थियो। आँबुखैरेनी गाउँपालिका वडा नम्बर ४ रूवाखोलाको पुलबाट टिपर खोलामा खस्दा चालक तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर ६ का करिब ४७ वर्षका रामबहादुर दमैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

मुग्लिनबाट आँबुखैरेनीतर्फ गइरहेको ग १ क ४४६९ नम्बरको टिपर आज बिहान करिब साढे ४ बजे पुलबाट खसेर खोलामा पुगेको थियो।

टिपर खसेर गम्भीर घाइते भएका चालकलाई उपचारका लागि चितवनस्थित मेडिकल कलेज लगिएकोमा चिकित्सकहरूले मृत घोषणा गरेको प्रहरीको भनाइ छ। तीव्र गतिका कारण अनियन्त्रित भई टिपर दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ।