७ वैशाख

पोखरा । महानगरको मेयरको टिकट गठबन्धनबाट एकीकृत समाजवादीले पाएको छ । पाँच दलीय सत्ता गठबन्धनले पोखराको मेयरको टिकट माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीलाई दिने निर्णय गरेकाे हाे । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकमा भर्खरै कांग्रेसले दाबी छाडेको हाे ।

पोखरामा सहमति जुटेपछि पाँच दलीय गठबन्धनले ६ वटै महानगरपालिकाको टुंगो लगाएको छ। तीन महानगर कांग्रेसले लिने, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले एक/एक महानगरको नेतृत्व लिने सहमति गरेको छ ।

६ महानगरमध्ये काठमाडौं, विराटनगर र ललितपुर महानगरपालिका कांग्रेसले लिएको छ। त्यसैगरी चितवनको भरतपुर माओवादी केन्द्रले लिएको छ। जनता समाजवादी पार्टीले पर्साको वीरगञ्ज महानगरपालिका लिने सहमति भएको छ। सहमतिको खाका मंगलबार साँझसम्म तयार हुने एक नेताले बताए ।

गत २०७४ सालको स्थानीय तह निर्वाचनमा एमाले विजयी पोखरामा समाजवादीका अध्यक्ष नेपालले बलियो दाबेदारी गर्दै आएका थिए। तर, काँग्रेसको स्थानिय नेता, कार्यकर्ता भने रुष्ट छन् । सोमबार मात्रै जिल्ला कमिटि कास्कीका दुई सचिव र पोखरा महानगर कमिटिका दुई सचिवले विज्ञप्ति जारी गर्दै नेतृत्व छाड्नुपरे गठबन्धन आवश्यक नरहेको प्रष्ट पारेका थिए ।