२६ चैत्र

नेपाली कांग्रेस चितवनका नेताहरूले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर भरतपुरको मेयर पद गुम्न नदिन आग्रह गरेका छन्।

शुक्रबार साँझ बालुवाटार पुगेको नेताहरूको टोलीले देउवालाई चितवनमा कांग्रेसको अवस्थाबारे जानकारी गराएको थियो।

जिल्ला सभापति राजेश्वर खनाल, चितवनबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरू टेकप्रसाद गुरूङ, दिनेश कोइराला, निवर्तमान जिल्ला सभापति जितनारायण श्रेष्ठ, प्रदेश सांसद गीता वाग्ले, नेताहरु उत्तम जोशी, जगन्नाथ पौडेललगायत सहभागी रहेको टोलीलाई देउवाले सकेको प्रयास गर्ने वचन दिएका थिए।

‘मैले सबैलाई मिलाएर लैजानुपर्ने छ तै पनि भरतपुरको मेयर कांग्रेसलाई नै पार्न म पनि सकेको प्रयास गर्छु,’ देउवाको भनाइ उदृत गर्दै केन्द्रीय सदस्य दिनेश कोइरालाले भने, ‘मलाई पनि थाहा छ हामीभन्दा अरू कमजोर छन्। तर गठबन्धन हो, सबैको चित्त बुझाउनुपर्‍यो। गठबन्धनका सबै दलको चित्त बुझाएर सही निर्णय गर्छु भन्नुभएको छ।

उनीहरूले बिहीबार पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेर ध्यानाकर्षण गराएका थिए।

पौडेलले आफू पनि भरतपुरको मेयर कांग्रेसले पाउनुपर्ने पक्षमा रहेको भन्दै सभापति देउवालाई पनि भेटेर ध्यानाकर्षण गराउन भनेका थिए।