१० चैत
पोखरा । पोखरामा स्कुल बससँग स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ घर भई हाल पोखरा महानगरपालिका– १४ चाउथे बस्ने १९ वर्षीय किस्मत वाग्ले रहेका छन् ।
आज (बिहीबार) बिहान करिब ६ बजेतिर वाग्लेले चलाइरहेको स्कुटर एक पैदलयात्री महिलालाई ठक्कर दिएर स्कुल बससँग ठोक्किएको जिल्ला प्रहरी कास्कीले जनाएको छ ।
प्रहरीका अनुसार चाउथेबाट विजयपुरतर्फ आउँदै गरेको ग २२ प ००७ नम्बरको स्कुटरले ३२ वर्षीय टेकमाया घर्तीलाई ठक्कर दिएको थियो ।
लगत्तै विपरीत दिशाबाट आइरहेको पोखरा १५, रामबजातस्थित गोल्डेन फ्युचर बोर्डिङ स्कुलको ग१क ९९६ नम्बरको बसमा ठोक्किन पुगेको थियो ।
गम्भिर घाइते भएका स्कुटर चालक वाग्लेलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइए पनि चिकित्सकले मृत घोषणा गरेको हो ।









