२२ फागुन

पर्वत । पर्वतको कुश्मा नगरपालिका ५ गोपाङघाटमा मलामीलाई ओत लाग्ने सत्तल निर्माण गरि उद्घाटन गरिएको छ ।

कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले सत्तलको उद्घाटन गर्नुभयो । उहाँले कालीगण्डकी नदी किनारमा रहेका घाटहरु लाई व्यवस्थित बनाउन नगरपालिकाले वृहत गुरुयोजना बनाएपनि कोभिड १९ को संक्रमणका कारण सरकारले बजेट कटौती गर्दा सम्भव नरहेको बताउनुभयो । गोपाङघाटमा नमूना समाधीस्थल निर्माण गर्ने गरि गतवर्ष डिपिआर समेत भएको र कोरोनाका कारण सरकारले बजेट कटौती गरेपछि काम अधुरो रहेको जोशीले अवगत गराउनुभयो ।

उहाँले सत्तल निर्माण भएपछि मलामीलाई घामपानी छेक्न सहज भएको भन्दै आगामी दिनमा यसको विकासका लागि नगरपालिकाले आवश्यक पहल गर्ने आश्वसन दिनुभएको छ । कार्यक्रममा कुश्मा नगरपालिका ५ ले साविक शिवालय गाविसका वडाध्यक्षहरुलाई सम्मान गरेको छ । पूर्व वडाध्यक्षहरु हरिप्रसाद श्रेष्ठ, भीमवहादुर खत्री, श्यामप्रसाद श्रेष्ठ र ईन्द्रवहादुर श्रेष्ठलाई दोसल्ला, प्रशंसापत्र र करुवा प्रदान गरि सम्मान गरिएको थियो ।

नगरप्रमुख जोशी र कुश्मा नगरपालिका ५ का वडाध्यक्ष चित्रकला शर्मा भारतीले उहाँहरुलाई सम्मान गर्नुभयो । कार्यक्रममा बोल्दै वडाध्यक्ष शर्माले कुश्माका बासिन्दाहरुको साझा समाधीस्थलको रुपमा रहेको गोपाङघाटमा खानेपानी, शौचालय तथा शवदहन स्थलको आवश्यकता रहेको हुनाले त्यसका लागि नगरपालिकाबाट आवश्यक सहयोगको माग गरिएको बताउनुभयो । उहाँले सबैको साथ र सहयोगले सत्तल निर्माण भएको भन्दै यसको संरक्षण र थप संरचना निर्माणको लागि हातेमालो आवश्यक रहेको बताउनुभयो ।उक्त सत्तल वडा कार्यालयको ५ लाख बजेटमा निर्माण भएको हो ।

कार्यक्रममा नेकपा एमाले कुश्मा नगरकमिटीका अध्यक्ष मिनप्रसाद श्रेष्ठ, पूर्व वडाध्यक्ष ईन्द्रप्रसाद श्रेष्ठ, समाजसेवी हरिप्रसाद शर्मा लगायतले बोल्नुभएको थियो । गोपाङघाट सत्तल निर्माण समितिका अध्यक्ष ईश्वरबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालन गोकुल चापागाईले गर्नुभएको थियो ।