१२ फागुन
तिनिधिसभाको बैठक आज बस्दैछ। दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि छलफल हुनेछ।
संसद् सचिवालयका अनुसार आजको सम्भावित कार्यसूचीमा एमसीसीमाथि सामान्य छलफल होस् भन्ने प्रस्ताव पेस हुने उल्लेख छ।
सो प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेस गर्ने छन्। फागुन ८ गते आइतबार एमसिसी सदनमा टेबल भएको थियो। अर्थमन्त्रीले टेबल गर्ने कार्यसूचीमा राखिएको भए पनि त्यतिबेला उनी अनुपस्थित भएकाले सञ्चार मन्त्रीले प्रस्तुत गरेका थिए।
प्रतिनिधिसभाको बैठक अघि, बिहान ११ बजे बस्ने गरी कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाइएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा एमसीसीलाई कसरी अगाडि बढाउने भन्नेबारे छलफल हुनेछ।
दलहरूबीच एमसीसीका बारेमा साझा धारण बनाउने प्रयास भइरहेको छ। तर सत्तारुढ दलबीच नै यसबारे मत बाझिएको छ। सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस जसरी पनि एमसीसी पास गर्ने रणनीतिमा छ भने सत्तासाझेदार माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) एमसीसीको विपक्षमा छ।









