१८ माघ

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गठन गरेको ‘मार्सल टोली’ले मिनवा म्यानपावरका सञ्चालकसहित ३ जनालाई पक्राउ गरेको छ। वैदेशिक रोजगारीमा जाने श्रमिकसँग सरकारले तोकेभन्दा धेरै रकम लिई ठगी गरिरहेको सूचनाका आधारमा टोली नियन्त्रणमा लिएको हो।

काठमाडौंको सिनामंगलस्थित मिनवा म्यानपावरको स्टिङ अपरेसन गरिएको छ। आइतबारदेखि सञ्चालन भएको ‘कल सेन्टर’ मा म्यानपावर कम्पनीले ठगी गरिरहेको सूचना आएपछि ‘मार्सल टोली’ ले सोमबार स्टिङ अपरेसन गरेको थियो। वैदेशिक रोजगारीमा कतार जाने तयारीमा रहेका अलि मुस्तफासँग १ लाख २० हजार रुपैयाँ लिँदै गरेको अवस्थामा म्यानपावर सञ्चालक राई, कर्मचारी साहरा थापा तथा एजेन्ट महोम्मद इसाक मियाँलाई रकमसहित नियन्त्रणमा लिई केन्द्रीय अनुसन्धान ब्युरोमा लगिएको टोलीका संयोजक विष्णु लामिछानेले बताए।

सरकारले तोकेभन्दा धेरै रकम लिने म्यानपावरका बारेमा सूचना पाए तत्काल स्टिङ अपरेसन गरिने लामिछानेले बताए। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग पहिलो फोनमा गुनासोकर्ताले म्यानपावरले सरकारले तोकेभन्दा बढी पैसा असुली गर्ने गरेको बताएका थिए।