१५ माघ
पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले स्थानीय तहको निर्वाचन सार्ने काम गरिए संविधान नै समाप्त गर्नेलाई बाटो खुल्ने बताएका छन्।

पूर्वप्रधानन्यायाधीश पराजुलीले स्थानीय तहको निर्वाचन सार्नु भनेको सत्तारुढ गठबन्धनलाई समेत प्रत्युत्पादक हुने बताए।

पूर्वप्रधानन्यायाधीश पराजुलीले स्थानीय तहको निर्वाचनलाई सार्ने काम गरेअहिलेको संविधान नचाहेका शक्तिलाई बल पुग्नेतर्फ पनि सचेत गराए।

‘निर्वाचन सार्ने भनेको यो गठबन्धनलाई पनि प्रत्युत्पादक हुन्छ। डेमोक्रेसीलाई पनि धावा बोल्छ। अर्को त्यतिमात्रै नभएर विधि र संविधानको उपहास गर्छ’, उनले भने, ‘त्यसकारण मेरो प्रष्ट धारणा छ- साहसका साथ निर्वाचनमा जान सक्नुपर्छ। गठबन्धन होस वा मेरो भोट पुग्दैन, मेरो मत थोरै हुन्छ भनेर निर्वाचनलाई सार्न खोज्छ र त्यसले विधिको शासनलाई समाप्त पार्छ।’

उनले स्थानीय तहको निर्वाचन सारिए विधिको शासन समाप्त हुने, संविधानवादको सिद्धान्त समाप्त हुने र अन्ततः डेमोक्रेटिक सिष्टमनै नरहने अवस्था आउनेसमेत दाबी गरे। ‘निर्वाचन सारिए त्यसले संविधानवादको सिद्धान्तलाई समाप्त पार्छ। र, अन्ततः यो डेमोक्रेटिक सिष्टम जान्छ र जसले यो संविधान चाहेका छैनन । त्यस्ता तत्वहरुलाई ठूलो टेवा मिल्छ।’

पूर्वप्रधानन्यायाधीश पराजुलीले स्तब्ध भएर बसेको न्यायालयलाई सूचारू गराउन उच्चस्तरीय आयोग गठन गर्नुपर्ने माग समेत गरे। उनले सो आयोगले अनुसन्धान गरेर, जाँचबुझ गरेर मात्रै न्यायालयलाई अगाडि बढाउन सक्ने तर्क गरे।