१४ माघ
पर्वत । पर्वतको मालढुङगामा अस्थाई प्रहरी पोष्ट स्थापना भएको छ । छिमेकी जिल्ला बागलुङ र पर्वतको सिमानामा पर्ने कुश्मा नगरपालिका–१ मालढुङगामा बिहीवाट प्रहरी पोष्ट संचालनमा आएको हो । गैरकानुनी गतिविधि रोकथाम, मध्यपहाडी लोकमार्ग र कालीगण्डी कोरीडोरको मिलन बिन्दु रहेको र लोकमार्गमा हुन सक्ने सवारी दुर्घटना न्यूनीकरण गर्न र कालीगण्डकी नदीबाट हुन सक्ने गिट्टी बालुवाको अवैध उत्खनन् नियन्त्रण गर्न मालढुङ्गामा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतक प्रहरी नायब उपरिक्षक शिवराज बुढाथोकीले जानकारी दिनुभयो ।
अस्थायी प्रहरी पोष्टको पर्वतका प्रमुख जिल्ला अधिकारी देवि पाण्डे खत्रीले शुभारम्भ गर्नुभएको हो । उहाँले यो पोष्टबाट चौविसै घण्टा नागरिकलाई सेवा प्रवाह गर्न आग्रह गर्नुभएको छ ।
प्रहरी प्रधान कार्यालयको कार्य विभाग प्रशासन शाखाको गत माघ ५ गते र गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा कार्य शाखाको माघ ६ गतेको पत्रको आदेश अनुसार अस्थाई प्रहरी पोष्ट संचालनमा ल्याईएको प्रहरी निरिक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
कुश्मा नगरपालिका वडा नम्वर १ का कार्यबाहक वडा अध्यक्ष बिरेन्द्र रिजालले लामो समयदेखि माग गर्दै आएको प्रहरी पोष्टको माग पुरा भएको भन्दै धन्यवाद दिनुभएको थियो । उहाँले दुई जिल्लाको सिमानामा हुने गैरकानूनी क्रियाकलाप र राजमार्गको सुरक्षाका लागि यसको ठुलो महत्व रहेको बताउनुभयो ।








