१४ माघ
पर्वत । दुवै मृर्गोला पिडितलाई पर्वत सेवा समाज पर्वतले आर्थिक सहयोग गरेको छ । मोदि गाउंपालिका वडा न ६ निवासी ५० वर्षिय गणेश जिसीलाई १० हजार आर्थिक सहयोग गरेको हो । आर्थिक अवस्था कमजोर भएका जिसीको ३ वटा वालवच्चा रहेका छन् । जिसी वालवच्चा छाडेर डायलसीस गर्नका लागी श्रीमती सहित पर्वत अस्पताल नजिक डेरा गरी वसेका छन् । शारिरिक अवस्था कमजोर भए पछि डायलसिस गर्न तिलाहार देखी आउने जाने गर्न सम्भव नभएकाले उनि डेरा गरि वस्न वाध्य भएका हुन । आर्थिक अवस्था कमजोर र उचितमात्रमा पोष्टिक आहार नपुगेका कारणले पनि शारिरीक अवस्था दिनप्रतिदिन कमजोर हुदै गएको छ ।


विरामीको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै पर्वत सेवासमाजका उपाध्यक्ष गणेश वहादुर क्षेत्री,सदस्यहरु अच्यूत तिवारी,माधव पौडेल,नवराज भण्डारी लगायतले सहयोग हस्तान्तरण गरेका छन् ।
विरामीको तर्फवाट श्रीमती तिलकुमारी जि सीले थप सहयोगका लागी अनुरोध गरेकी छन् । एभरेष्ट वैक कुश्मामा रहेको खाता नं. ०३०००५०१२०५९४९ मा सहयोग संकलनका लागी अनुरोध समेत गरेकी छन् ।
पर्वत सेवा समाजले दैविप्रकोपमा परेका र मानविय अवस्थामा अतिकमजोर भएकाहरुका लागी सहयोग गर्दै आएको छ । तत्कालीन समयमा ईजारयल, कोरीयालगायतका देशहरुमा रोजगारीका लागी गएका व्यक्तिहरुले पर्वत जिल्लामा हुने दैविप्रकोप लगायतका क्षेत्रमा स सानो सहयोग गर्नका लागी रकम संकलन गरेका थिए । शुरुमा २ लाख ५० हजार वाट जम्मा भएको उक्त रकम कोरीया लगायतका देशहरुवाट थप भई त्यसको व्याज समेत गरेर हाल ५ लाख भएको छ । ५ लाखलाई फिक्स एकाउण्टमा जम्मा गरेर त्यस वाट प्राप्त व्याजले ससानो सहयोग गर्दै आएको समाजका अध्यक्ष मुना भूषालले जानकारी दिईन ।


समाजले वोनम्यारो पिडीत कुश्मा नपा २ खुर्कोटका नन्द कुमारी गीरी,दुवै मृगौला पिडित फलेवास नगरपालिका वडा नं. ११ का डण्ड वहादुर जिसी,कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुडकी अमृता शर्मा लगायत दर्जनौलाई सहयोग गरेको छ । जलजला गाउंपालिका ८ लस्तीका पहिरो पिडीतलाई खाद्यान्न सहयोग समेत उपलव्ध गराएको थियो ।