१२ माघ
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन घोषणा गर्न सरकारलाई फेरि एक पटक दबाव दिएको छ ।यसअघि दुई पटकसम्म प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर निर्वाचनको मिति तोक्न आग्रह गरेको आयोगले मंगलबार विज्ञप्तिमार्फत यस्तो आग्रह गरेको हो ।
स्थानीय तहको निर्वाचन आगामी वैशाखमै हुनुपर्छ भनेर आयोगले सरकारलाई औपचारिक रुपमा भनेको यो तेस्रो पटक हो । आयोगले गत कात्तिक ८ गते प्रधानमन्त्री देउवालाई भेटेर स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने भए आगामी वैशाख १४ गते र दुई चरणमा गर्ने भए वैशाख १४ र २२ गते गर्ने गरी मिति तोक्न प्रस्ताव गरेको थियो ।
त्यस्तै गत पुस ९ गते पनि प्रधानमन्त्रीलाई भेटेर आयोगका पदाधिकारीले स्थानीय तहको निर्वाचनको मिति तोक्न आग्रह गरेका थिए ।
तर, आफ्नो सुझाव अनुसार सरकारले मिति तोक्नमा ढिलाइ गरेपछि आयोगले तेस्रो पटक सरकारलाई निर्वाचनको मिति तोक्न ताकेता गरेको हो । र तेस्रो पटकको आग्रहमा आयोगले केही निर्देशनात्मक भाषा प्रयोग गरेको छ ।
सरकारलाई परामर्श दिने हैसियत राख्ने आयोगले निर्वाचनको मिति ‘यथाशीघ्र तोक्न’ सरकारलाई आग्रह गरेको छ । आयोगका अधिकारीहरु यसलाई थप दबाव दिने रणनीति भन्न रुचाउँछन् ।
प्रधानमन्त्रीले समय नदिएपछि विज्ञप्तिबाटै दबाव
स्थानीय तहको निर्वाचन आगामी जेठ ५ गतेभित्र सम्पन्न गरिसक्नुपर्ने भनेर सरकारलाई तारन्तार सम्झाइरहेको निर्वाचन आयोगका पदाधिकारीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न समय मागेका थिए ।
तर, प्रधानमन्त्री कार्यालयबाट सोमबार खबर आयो, ‘मंगलबार प्रधानमन्त्रीको समय मिल्दैन । बुधबार वा बिहीबार भेट्दा के हुन्छ ?’
प्रधानमन्त्रीले भेट नदिएपछि मंगलबार आयोगका पदाधिकारी छलफलमा जुटे । ‘आज भोलि, आज भोलि भन्दै प्रधानमन्त्रीले कहिले समय दिन्छन् र निर्वाचनको मिति तोक्न थप दबाव दिउँला भनी कुरेर बस्न नहुने’ निष्कर्षमा आयोगका पदाधिकारीहरु पुगे । त्यसपछि मंगलबार दिउँसो आयोगले सरकारलाई चुनावको मिति यथाशीघ्र तोक्न आग्रह गर्दै विज्ञप्ति निकाल्यो ।








