९ माघ

पर्वत । जलजला गाउँपालिकाको गाउँसभा सम्पन्न भएको छ । ‘‘फलफुल तथा कृषि उपजको आधारशिलता–सुखी, सम्बृद्ध र समतामुलक हाम्रो जलजला’’ भन्ने मुल नाराका साथ गाउँपालिकाको ११ औँ गाउँसभा सम्पन्न भएको हो ।

सभाको उद्घाटन गदै गाउँपालिका अध्यक्ष यामवहादुर मल्ल ‘रामकृष्ण’ले आर्थिक बर्ष २०७४/०७५ देखी २०७८/०७९ को छैठौ महिनासम्म गाउँपालिकाले गरेका महत्वपूर्ण उपलव्धीहरुको विवरण प्रस्तुत गर्नुभएको थियो । उहाँले स्थानिय सरकार आएको पाँच बर्षको अवधिमा सडक, खानेपानी,शिक्षा,स्वास्थ्य लगाएतका क्षेत्रहरूमा विकास गरिएको र कृषि, पर्यटन, उद्योग तथा वाणिज्य, सहकारी तथा वित्तीय क्षेत्र, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, संस्कृति प्रवद्र्धन, युवा खेलकुद तथा मनोरन्जन, लैंगिक तथा सामाजिक समावेशीकरण, सडक, सिँचाई, वन तथा भूःसंरक्षण, वातावरण तथा जलवायु परिवर्तन, विपद् व्यवस्थापन, सेवा प्रवाह, सुशासन प्रवद्र्धनका क्षेत्रमा बजेट विनियोजन गरेर गाउँपालिको बिकासमा लागेको बताउनु भयो ।

अध्यक्ष मल्लका अनुसार गाउँपालिका १५० किलोमिटर सडक स्तरोन्नति, १९० किलो मिटर सडक नियमित आवधिक मर्मत, एक हजार ९५० मिटर सडक ढलान, २५० मिटर सडक पिच, ४६ किलोमिटर नयाँ सडक मार्ग निर्माण, दुई हजार ७०० मिटर पदमार्ग निर्माण र छ वटा ग्रामिण सडकको डिपिआर तयार पारिएको अध्यक्ष मल्लले बताउनु भयो ।

त्यस्तै ९१ प्रतिशत घरधुरीमा खानेपानीको पहुँच पुगेको र ५, ८ र ९ मा एक घर एक धारा सहितको खानेपानी आयोजना सञ्चालन भएको, ३२५ रोपनी क्षेत्रफल जमिनमा सिचाई सुबिधा बिस्तार भएको, सत प्रतिशत घरधुरीमा बिद्युत सुबिधा पुगेको अध्यक्ष मल्लले जानकारी गराउनुभयो । मल्लाजमा दश शैयाको अस्पताल, लामाखेतमा गाउँपालिकाको प्रशासनिक भवन, २ र ८ नम्बर वडाको कार्यालय निर्माणाधिन, दुई वटा स्वास्थ्य इकाई, १५ वटा बिद्यालय, ९ वटा खेलमैदान निर्माण र वारीबेनी खेलमैदानको ढलान तथा नाली निर्माण, ९ वटा वडा कार्यालय र ८ वटा सामुदायिक भवनको डिपिआर तयार पारेको छ ।

कालञ्जर हस्माल क्षेत्रमा छ किलोमिटर सडक निर्माण, ८ वटा पाहुनाघर निर्माण, घर्तिचोक देखि फड्केढुंगा सम्म एक हजार ३०० मिटर घोरेटो बाटो निर्माणाधिन, एक वटा कोल्ड स्टोर निर्माण, कृषि बजार सञ्चालन, औद्योगिक ग्राम निर्माण, बृत्तचित्र र पर्यटन प्रोफाइल बनाएको छ । आधारभूत स्वास्थ्य सेवामा पहुँच बढाउन २, ४ नम्बर वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र, ५मा २ वटा, २ मा एक वटा, ८ मा एक वटा, ९ मा एक वटा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेको उपाध्यक्ष सिमा पुनले बताउनुभयो । वारीबेनीको फोहोर ब्यवस्थापन शुरु गरेको छ । तरकारी, फलफुल, दूध, अण्डा, मासू उत्पादनका लागि जोड दिएर कार्यक्रम सञ्चालन गरिएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रवहादुर क्षेत्रीले चालु आर्थिक बर्षको छ महिनाको अवधीमा पुजिगत तर्फ रु. १६ करोड १३ लाख पचास हजार रुपैयाँ बिनियोजन भएकोमा २५.९६ प्रतिशत अथवा रु. चार करोड १८ लाख ९९ हजार ३०२ खर्च भएको बताउनुभयो । चालु शिर्षकमा रु. २९ करोड दुई लाख बजेट बिनियोजन भएकोमा ४१.९५ प्रतिशत अथवा रु. १२ करोड १७ लाख ६७ हजार ६७० खर्च भएको छ । चालु आर्थिक बर्षमा बजेट बिनियोजन भएका योजना कार्यान्वयनलाई तिब्रता दिने जनप्रतिनिधीहरुले बताएका छन् ।

त्यस्तै सभाले चालु आर्थिक बर्षको छ महिनाको आम्दानी खर्च बिबरण र साउन महिना यता कार्यपालिका बैठकले गरेका निर्णयको अनुमोदन गरेको छ । बिद्यालय कर्मचारी र सहयोगीको तलब बढाउने ब्यवस्था भएको शिक्षा ऐन लगायतका बिधेयकहरु पारित भएको गाउँपालिकाका सूचना अधिकारी लिलाधर सुबेदीले बताउनुभयो । जलजला गाउँपालिकाले स्थानीय सरकार सञ्चालन सम्बन्धी ४८ वटा कानुन बनाएको छ ।

गाउँसभामा कोरोनाको जोखिमका कारण स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गरिएको थियो । सभामा भाग लिन आएका जनप्रतिनिधीहरुलाई कोरोना बिरुद्धको बुस्टर डोज खोप लगाइएको स्वास्थ्य शाखा संयोजक राजु बोहोराले बताउनुभयो । उहाँका अनुसार एन्टिजेन परिक्षणको समेत ब्यवस्था मिलाइएको थियो ।