९ माघ
पछिल्लो समय संसारभरि कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टले जनजीवन प्रभावित भएको छ। संक्रमण बढेको छ भने सरकारहरूले प्रतिबन्धात्मक नियमहरू लागु गरेका छन्।
न्युजिल्यान्डमा भने ओमिक्रोन भेरियन्टले संक्रमण बढेपछि प्रधानमन्त्री ज्यासिन्डा आर्डेनको विवाह नै रोकिएको छ। समाचार संस्था रोयटर्सका अनुसार आइतबार संवाददाताहरूसँग कुरा गर्दै आर्डेनले आफ्नो विवाह तत्कालका लागि रद्द भएको जानकारी दिएकी छन्।
न्युजिल्यान्डमा एउटा विवाह समारोहमा सहभागी भएका ९ जनामा ओमिक्रोनको संक्रमण पुष्टि भएपछि आइतबार मध्य रातिदेखि नयाँ प्रतिबन्धहरू लागु हुँदैछन्। मास्क अनिवार्य गर्नेदेखि कुनै ठाउँमा १ सय जनाभन्दा बढी भेला हुन नदिने नियम लागु हुँदैछन्।
आर्डेनको विवाह कहिले हुन लागेको थियो भन्ने मिति सार्वजनिक गरिएको थिएन तर छिट्टै हुने चर्चा चलेको थियो।
आर्डेन लामो समयदेखि कार्ल्क गेफोर्डसँग सम्बन्धमा छन्। दुई वर्षअघि प्रधानमन्त्री हुँदै उनीहरूले इन्गेजमेन्ट गरेका थिए। गेफोर्ड टिभी कार्यक्रम प्रस्तोता हुन्।









