१५ मंसीर
पोखरा– नेपाली कांग्रेस १४ औं महाधिवेशनअन्तर्गत प्रदेश अधिवेशनको चरणमा पुगेको छ। जिल्लाका नतिजाहरू आएपछि बिहीबारदेखि प्रदेश अधिवेशन सुरू हुँदैछ। गण्डकीको नवलपुरबाहेक सबै जिल्लामा अधिवेशन सकिएको छ।
गोरखामा नन्दप्रसाद न्यौपाने, मनाङमा शंकर गुरुङ, मुस्ताङमा रोमी गौचन थकाली र म्याग्दीमा खमबहादुर गर्वुजा ९खम्बिर० निर्विरोध निर्वाचित भए। अन्य जिल्लामा भने निर्वाचनबाट नेतृत्व चयन भएको हो। बागलुङ र कास्कीमा दोश्रो चरणबाट नेतृत्व छानिएको छ भने बाँकी जिल्लामा एकै पटकमा सभापति निर्वाचित भए।
कास्कीमा किशोरदत्त बराल, तनहुँमा जीतप्रकाश आले, बागलुङमा जीत शेरचन, पर्वतमा युवराज जोशी, लमजुङमा टकराज गुरुङ र स्याङजामा राजु थापा निर्वाचित भए।
जिल्लाको निर्वाचन परिणाम आएपछि गण्डकी प्रदेशको नेतृत्वमा हानथाप सुरू भएको छ। यहाँ केन्द्रको छायाँ पर्ने निश्चित छ। शेरबहादुर देउवा निकटबाट अर्जुन जोशी एक्ला उम्मेद्वार बनेका छन्। उनले उम्मेद्वारी घोषणा गरेर आफ्नो प्यानल तयारी गरिरहेका छन्।
संस्थापनइतरबाट अहिलेसम्म चार जना आकांक्षी देखिएका छन्। तीन जनाले पत्रकार सम्मेलन गरेर उम्मेद्वारी घोषणा गरे भने अर्का एकजना तयारीमा छन्।
सुरूमै कास्कीका देवराज चालिसेले दावी पेश गरे। त्यसपछि तनहुँका रघुनाथ पौडेल र कास्कीकै पूराना नेता शुक्रराज शर्माले घोषणा गरे। यज्ञबहादुर थापा सचिवालय खोलेर प्रचार थालिसकेका छन्। देउवा पक्षका जोशीले केही हेभिवेट नेताहरूलाई समेत मन्चमा राखेर आफ्नो उम्मेद्वारी घोषणा गरे।
उनको घोषणासभामा पूर्व सभामुख तारानाथ रानाभाटदेखि खेमराज पौडेल, मन्त्रीहरू कुमार खड्का, विन्दुकुमार थापा, मेखलाल श्रेष्ठ, कास्की कांग्रेसका सभापति किशोरदत्त बराल र विभिन्न जिल्लाका नेता कार्यकर्ताहरू उपस्थित थिए। रानाभाट पौडेल समूह निकट मानिन्थे। ‘कांग्रेसलाई मजबुत बनाउन जोशीलाई जिताउनुपर्नेछ। उहाँमा कांग्रेस हाँक्ने खुवी छ,’ रानाभाटले घोषणासभालाई सम्बोधन गर्दै भने, ‘यो कुनै गुट होइन। विचार मिल्नेहरूको समूह हो।’
जोशीले पनि आफू गुटको राजनीति नगर्ने दावी गरेका छन्। ‘शेरबहादुर देउवा ज्यूले कांग्रेसलाई मजवुत बनाउने अभियान थाल्नुभएको छ। देशलाई समृद्ध बनाउने काम सुरू गर्नुभएको छ,’ उनले भने, ‘हामीले उहाँको अभियानलाई सघाउनुपर्छ। तर, म गुटमा विश्वास गर्दिनँ र गुटलाई समर्थन पनि गर्दिनँ।’
उनले भने गण्डकी प्रदेशमा कांग्रेसको संगठन मजवुत वनाउनका लागी मैले उम्मेदवारी दिएको हुं । अव हुने सघ,प्रदेश र स्थानिय तहमा कांग्रेसको वहुमत ल्याउने गरि आफुले संगठन निर्माण गर्ने वताए । उम्मेदवारी घोषणा कार्यक्रममा महाधिवेशन प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।