१३ मंसीर
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश अधिवेशनको निर्वाचन कार्यक्रम हेरफेर गरिएको छ ।
काठमाडौं। नेपाली कांग्रेसले प्रदेश संरचनाको नेतृत्व चयनका लागि तोकिएको प्रदेश अधिवेशन सारेको छ। कांग्रेस सभापति शेरबहादुर देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाबीच सोमबार भएको छलफलपछि प्रदेश अधिवेशन दुई दिन सार्ने निर्णय भएको हो।
कांग्रेसले सातै प्रदेशमा १६ र १७ मंसिरका लागि प्रदेश तहको अधिवेशन तोकेको थियो । अब सो मिति सारेर १८ र १९ मंसिरका लागि पुर्याइएको हो । ‘अझै केही जिल्लामा अधिवेशन बाँकी छ, प्रदेश २ मा त सुरु नै भएको छैन, शीर्ष नेताहरुबीच भएको छलफल अनुसार प्रदेश अधिवेशन दुई दिन सार्ने निर्णय भएको छ।’ स्रोतले भन्यो।
पछिल्लो निर्णयअनुसार प्रदेश तहको अधिवेशनका लागि उम्मेदवारी दर्ता भने १७ मंसिरमा हुने छ ।
केन्द्रीय महाधिवेशन पनि उम्मेदवारी मनोनयन दर्ता महाधिवेशनको उद्घाटन कार्यक्रमपछि अर्थात मंसिर २५ गते हुनेछ । यसअघि निर्वाचन समितिले उद्घाटनअघि नै मंसिर २१ गते नै मनोनयन दर्ताको कार्यतालिका सार्वजनिक गरेको थियो ।








