१४ कार्तिक
बुटवल । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साढे दुई अर्ब रुपैयाँ मूल्यको ‘ह्वाइट जेड’ धातुबाट निर्मित बुद्ध मूर्ति गौतमबुद्ध विमानस्थलमा आज अनावरण गरिंदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो उक्त मूर्ति अनावरण गर्ने कार्यक्रम छ ।
म्यान्मारस्थित खानीसम्बन्धी काम गर्ने कम्पनी मालविन ग्रुपद्वारा निर्मित एक हजार आठ सय केजी तौल भएको उक्त बुद्ध मूर्ति लुम्बिनी सांस्कृतिक नगरपालिका र स्पेनस्थित लुम्बिनी गार्डेन फाउन्डेसनको पहलमा विमानस्थलमा ल्याइएको हो ।
बुद्धमूर्ति अनावरण कार्यक्रममा स्पेनको एक्स्ट्रेमादुरा प्रदेशसभाका अध्यक्ष ब्लान्सा मार्टिन, डेल्गाडो र सोही प्रदेशका दुई जना मन्त्रीसमेत आउने कार्यक्रम रहेको लुम्बिनी गार्डेन फाउण्डेशनले जनाएको छ । उक्त बुद्ध मूर्ति १.९ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइको छ । सो बुद्ध मूर्तिमा प्रयोग भएको बहुमूल्य धातु ‘ह्वाइट जेड’ को हालको अन्तर्राष्ट्रिय बजार मूल्य प्रतिग्राम १२ अमेरिकी डलर रहेको छ ।
दुई करोड १६ लाख अमेरिकी डलर बराबरको उक्त मूर्ति फाउण्डेसनले नेपाललाई उपहार स्वरुप दिएको हो ।
उक्त बुद्ध मूर्तिलाई गत हप्ता बौद्ध भिक्षुहरूद्वारा मन्त्रोच्चारण गरि सिद्धार्थनगर नगर परिक्रमा गराई लुम्बिनीसम्म शान्ति र्यालीसहित बिमानस्थलमा ल्याएर राखिसकिएको छ । मूर्ति अनावरण कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री समेत रहेका गृहमन्त्री बालकृष्ण खांण पनि आउने कार्यक्रम छ ।








