२९ भदौं ।
पर्वत । पर्वतको कुश्मा नगरपालिका ११ सिल्मीका पहिरो पीडितलाई कुश्मा नगरपालिकाको तर्फबाट राहात रकम वितरण गरिएको छ । पूर्ण रुपमा घर भत्किएका र घरमा अन्नपात नभएर विचल्लीमा परेका परिवारलाई राहात वितरण गरिएको हो । कुश्मा नगरपालिकाको विपद व्यवस्थापन समितिको निर्णय अनुसार विपद व्यवस्थापन कोषमा रहेको रकम बाट मनिलाल पौडेल र डम्बर नेपालीलाई जनही ५०/५० हजार रुपैयाँ वितरण गरिएको छ ।

मनिलाल र डम्वरको घर भत्किएको थियो । मनिलालको घर भत्किँदा दुईजनाको मृत्यु भएको थियो । डम्बर नेपालीको घर, पशुचौपाय पुरिएर मरेका थिए । पहिरो प्रभावितलाई नगरप्रमुख रामचन्द्र जोशीले राहात रकम वितरण गर्नुभएको हो । यस्तै पहिरो प्रभावित हुमवहादुर नेपाली, डिलबहादुर नेपाली, लेखवहादुर नेपाली, नविन नेपाली र दुर्गा नेपाली लाई जनही १०/१० हजार रुपैयाँ वितरण गरिएको हो । पहिरोले गाउँ पुरै जोखिममा छ । स्थानीयहरु शोक र भोकमा डुवेका छन् । अहिले एक सय जति घर पहिरोको जोखिममा रहेको वडाध्यक्ष शिवप्रसाद पौडेलले जानकारी दिनुभयो ।

पहिरोले रोकिएको सडक केहि दिन देखी सञ्चालन भएको छ । राहात वितरण गर्दै नगरप्रमुख रामचन्द्र जोशीले पीडित परिवारको पुनस्र्थापना र राहतका लागि नगरपालिकाको सामथ्र्यले भ्याए सम्म सहयोग गर्ने र थप सहयोगका लागि प्रदेश र संघ सरकार समक्ष अनुरोध गर्ने जानकारी दिनुभयो । उहाँले पहिरो प्रभावित क्षेत्रमा पुगेर समस्या बुझनुभएको छ ।

कुश्मा नगरपालिकामा यो वर्ष धेरै प्राकृतिक प्रकोपले समस्या भएकोले नगरपालिकाको स्रोतले मात्रै समाधान गर्न नसकेको जोशीले बताउनुभयो । पीडित परिवारलाई राहात दिन र जोखिममा रहेका घरलाई स्थानान्तरण गर्ने केन्द्र सरकारले नीति ल्याउन पहल गरिरहेको जोशीले अवगत गराउनुभयो ।