१ भदौ

काठमाडौं । सोमबार मध्यरात हुनै लाग्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई पन्ने वक्तव्य जारी गरी पार्टी एकताको पक्षमा उभिन आह्वान गरेका छन् । ‘पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र प्रतिनिधिसभा तथा राष्ट्रियसभाका माननीय सदस्यहरुलाई पार्टी वा संसदीय दल विभाजनका प्रयासहरु विरुद्ध दृढताका साथ उभिन हार्दिक अपील गर्दछु’, राति एघार बज्नै लाग्दा जारी वक्तव्यमा उल्लेख छ ।

प्रतिनिधिसभाको चालु अधिवेशन हठात् अन्त्य गरेर राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने र एमाले विभाजन गर्ने षडयन्त्र भइरहेको सन्देश पनि ओलीले दिएका छन् । वक्तव्य जारी गर्नुअघि ओलीले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई स्थायी कमिटी बैठक र प्रमुख सचेतक विशाल भट्टराईलाई संसदीय दलको बैठक बस्नेबारे सूचना पठाउन निर्देशन दिएका थिए । स्थायी कमिटी बैठक मंगलबार बिहान ११ बजे र संसदीय दलको बैठक दिउँसो दुई बजे बोलाइएको छ ।

वरिष्ठ नेता माधवकुमार नेपालले पनि मंगलबार आफू निकट सांसद र केन्द्रीय सदस्यहरुसँग छलफल गर्दैछन् । ‘यो छलफलले सम्भवतः महत्वपूर्ण निर्णय लिनेछ’, स्रोत भन्छ । सोमबार दिउँसो सरकारले संघीय संसद् अधिवेशन अन्त्य गरे लगत्तै एमालेभित्र उकुसमुकुस बढेको थियो । साँझसम्म दुवैतर्फका नेताहरुको दौडधुप र सम्वाद जारी रह्यो । तर पार्टी एकताबारे अन्योल कायमै रहेका बेला अध्यक्ष ओलीले वक्तव्य जारी गर्दै अनुशासित र सक्रिय भूमिकामा रहन पार्टी पंक्तिलाई निर्देशन दिएका छन् ।

पार्टी एकता जोगाउन दोस्रो एवम् तेस्रो तहका नेताहरु लागि परेपनि अध्यक्ष ओली र नेता नेपाल भने पार्टी विभाजनमा प्रष्ट देखिएका छन् । माधव नेपालकै कारण सत्ताबाट बाहिरिनुपर्ने अभिव्यक्ति दिंदै आएका ओलीले आफू निकट नेताहरुलाई सम्झौता नगर्ने अडान छोडेका छैनन् । ‘माधव नेपाल आउनु हुन्न । सकेसम्म बाँकी धेरै नेता ल्याउने भन्ने लगभग निष्कर्षमा (केपी ओली) हुनुहुन्छ’ ओली निकट एक नेता भन्छन् ।