२२ साउन
काठमाडौं।बाँके नेपालगञ्जका ५६ वर्षे विनोदकुमार श्रेष्ठले बाउन्स चेक दिँदा बैंकिङ कसुरको मुद्दादेखि जरिवाना र ७ दिने कैदको सजाय भोग्नु परेको छ। उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी झुक्याएर नबिल बैंकको चेक काटेर दिए। तर, खातामा पर्याप्त रकम नहँुदा चेक बैंकबाट भुक्तान हुन नसकी फिर्ता भयो। यसपछि चेकबाहकले श्रेष्ठमाथि उच्च अदालत तुलसीपुर, नेपालगन्जमा बैंकिङ कसुरको मुद्दा दायर गराए।
अदालतले गत चैत १२ गते बैंकिङ कसुर जन्य अपराधको ठहर गर्यो। जस्ले गर्दा श्रेष्ठलाई साढे २३ लाख जरिवाना र ७ दिनको कैद सजायको फैसला सुनायो। तर, प्रतिवादी श्रेष्ठ भागे। केन्द्रीय अनुसन्धान ब्युरोले (सीआईबी)साउन १८ गते भक्तपुरको काँडाघारीबाट पक्राउ गरेको छ।
चेक बाउन्स गरेकै कारण काठमाडौं बूढानीलकण्ठका ६२ वर्षे ठाकुरप्रताप थापालाई पनि सीआईबीले साउन १९ गते चक्रपथबाट पक्राउ गरेको छ। श्रेष्ठले देव विकास बैंकमा रहेको पर्याप्त नगद नभएकोे चेक काटेर दिएको विरुद्ध जाहेरवालाले उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए। अदालतले २०७६ भदौ ३ गते बैंकिङ कसुरजन्य अपराध ठहर गरेर ३९ लाख ९६ हजार ४ सय रुपैंयाँ जरिवानाको फैसला गरेको थियो। तर, उनी फरार रहेपछि सीआईबीले पक्राउ गरेको हो।
कसरी हुन्छ चेक बाउन्स ?
चेक काटेर दिने व्यक्तिले लेखिए अनुसारको नगद बैंक खातामा भुक्तानी योग्य रकम नभएमा चेक बाउन्स हुन्छ। भुक्तानीका निम्ति दिएको चेक बैंकबाट भुक्तान हुन नसकी फिर्ता हुनु भनेको ‘चेक बाउन्स’ हुनु हो। प्रायले यस्तो चेक नियतवश दिँदा अपराधको भागेदारी बन्नु परेको छ। साथै बैंक खातावालाले चेकमा लेखिएको मिति, अंक, बेहोरा लगायतमा फरक परेमा पनि चेक बाउन्स भएको ठहर हुन्छ। यसैले यस्ता कुरामा ध्यान दिन जरुरी छ। चेक काट्दा धेरै सजग हुनुपर्छ। यदि चेक बाउन्स भए चेक काट्ने वा चेक जारी गर्ने ब्यक्तिले नेपालमा प्रचलित कानुनअनुसार सजाय भोग्नुपर्छ।
सुरुमा चेक बाउन्स भएको एक साताभित्र बैंकलाई खबर गरेर चेक वाहकले चेक जारी गर्नेलाई कालोसूचीमा समेत राख्न पाउँछ। यसरी कालोूुचीमा भएपछि नहटेसम्म सो व्यक्तिले बैंकमा खाता खोल्न, ऋण लिन पाउँदैन। साथै सरकारी सेवा सुविधाबाट पनि वञ्चित हुनुपर्छ।








