२ साउन
काठमाडौं । कोइराला परिवारका नेपाली कांग्रेसका तीन नेताले शनिबार लञ्च मिटिङ गरेका छन्। महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य डा. शेखर कोइराला र सुजाता कोइरालाबीच लञ्च मिटिङ भएको हो।
महाराजगञ्जस्थित महामन्त्री शशांकको निवासमा भएको लञ्च मिटिङमा तीन एजेन्डामा छलफल भएको डा. शेखर कोइरालाका सहयोगी दिनेशचन्द्र थपलीयाले जानकारी दिए। थपलीयाका अनुसार राष्ट्रिय राजनीति, सरकारलाई विश्वासको मत दिलाउने र पार्टीको १४ औं महाधिवेशनका विषयमा कुराकानी भएको हो।
तीन नेताको छलफलमा पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई कसरी विश्वासको मत दिलाउने भन्ने विषयमा केन्द्रित भएको छ। सरकारलाई विश्वासको मत दिलाउन विभिन्न अप्सनमा छलफल भएको छ। त्यसका लागि सक्रिय भएर लाग्ने निर्णय नेताहरुले लिएका छन्।
राष्ट्रिय राजनीतिलाई कांग्रेसको नेतृत्वमा अगाडि बढाउँदै महाधिवेशनलाई सफल बनाउने विषयमा नेताहरुबीच छलफल भएको हो। १४ औं महाधिवेशनमा पार्टी नेतृत्वका लागि उम्मेदवार चयन र अहिले देखिएको क्रियाशिल सदस्यता विवादको विषयमा समेत छलफल भएको छ।








