२३ असार
काठमाडौं। सरकारले चिनियाँ कम्पनी सिनोफर्मसँग ४० लाख डोजन भेरोसेल खोप खरिदका लागि नन् डिस्क्लोजेवल सम्झौता गरेको छ। सोहीअनुसार पहिलो चरणको १० लाख डोज खोप लिन नेपाल वायुसेवा निगमको विमान भोलि ( बिहीबार) चीन जाँदै छ। सम्भवतः शुक्रबार खोप नेपाल आइपुग्नेछ।
चीनबाट धेरै मात्रामा खोप आउने भएपछि सरकारले खोप अभियान सञ्चालन गर्ने बताएको छ। चीनबाट आउने भेरोसेल खोपको मुख्य प्राथमिकता ५५ वर्षमाथिकालाई लगाइने खोप सल्लाहकार समितिका संयोजक डा श्यामराज उप्रेतीले बताए।
उनले भने, ‘यसअघि ६० वर्ष माथिकालाई खोप लगभग लगाइसकिएको छ, अब ५५ वर्षभन्दा माथिकालाई मूल आधार मानेर खोप लगाइनेछ। त्यसपछि यसअघि निर्धारण गरिएअनुसार नै ४५-५० वर्षकालाई लगाइने छ।’








