सतिश रेग्मी
असार ८, २०७८
पर्वत : पर्वतमा जारी निषेधाज्ञालाई केही खुकुलो बनाएपछि पर्वत सदरमुकाम कुश्मा बजारमा आजबाट बिस्तारै चहलपहल सुरु भएको छ ।
अत्यावश्यक अवस्थामा जोर गते जोर नम्बर भएका र बिजोर गते बिजोर नम्म्बर भएका मोटरसाईकल तथा हलुका खालका सवारी चल्न पाउने तथा प्रशासनले निषेध गरेका पसलहरु बाहेक अन्य पसलहरु बिहान ६ बजेदेखि दिउसो १ बजेसम्म खुल्न पाउने निर्णय गरेपछि बजारमा चहलपहल बढएको हो ।
सटर तानिएका पसलका, बाटोमा फाटफुट मात्रै हिँडेको देखिने यात्रु तर बाक्लो रूपमा प्रहरीको उपस्थिति देखिने गरेकोमा अहिले भने सुनसान हराउँदै बजार खुल्न थालेको छ । जिल्लामा सङ्क्रमणको अवस्था नियन्त्रित रहेको तथा सङ्क्रमण दर पनि निकै कम भएका कारण डिसीसीएमसी पर्वतको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले आजदेखि बजारलाई केही मात्रामा खुल्न दिएको छ ।
‘प्रशासनले दिउसो १ बजेसम्म पसल खोल्न पाउने आदेश दिएपछि यहाँका पसलहरु खुलेको छन् । दिउसो १ बजेपछि बजार सुनासन भएको भए पनि बहिनबाट भने बिस्तारै चहलपहल बढीरहेको छ।’ कुस्मामा भाँडा पसल सञ्चालन गर्दै आएका प्रकाश पौडेलले भने, ‘लामो समय पसल बन्द गर्नुपर्दा व्यवसायीहरुलाई पर्नु पिर परेको छ । संक्रमण घट्दै जानु र पसल खोल्न पाउनु खुसीको कुरा हो । तर बर्खा लागेको बेलामा पसल खुले पनि गाउँबाट खरीदका लागि आउने ग्राहक भने अहिले खासै आउने अवस्था छैन् ।’
यसअघि बिहान १० बजेसम्म मात्र तोकिएका पसल खोल्न दिइएको अनुमति झनै भीड बढाउने काम भएकाले पसल खोल्न पाउने समय बढी हुनुपर्ने केही व्यवसायीहरुले माग गरेका थिए ।
यता प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जिल्लाका सबै स्थानीय तहहरूमा पिसिआर तथा एन्टीजिन परीक्षणको दायरा बढाइएको र प्राप्त नतिजामा सङ्क्रमणको पहिलेको तुलनामा निकै घटेका कारण बजारलाई आंशिक रूपमा खुलाउने निर्णय गरिएको बताइन् । तर सङ्क्रमणको जोखिम रहेका कारण निषेधलाई केही नरम बनाएर आउँदो असार १४ गते राती १२ बजेसम्मका लागि कायम गरिएको छ ।
प्रशासनले सिनेमा हल, पार्टी प्यालेस, होटल, रेस्टुरेन्ट, चिया तथा खाजा पसल, पार्क, ब्युटी पार्लर, सैलुन, कभर्ड हल, जिम खाना, खेलकुद मैदान खोल्न र सञ्चालन गर्न नपाइने र निषेध गरिएका बाहेकका अन्य पसलहरूलाई भने बिहान छ बजेदेखि दिउँसो एक बजेसम्म खोल्न पाइने भनेको छ ।
यस्तै सवारी सञ्चालनमा पनि प्रशासनले केही हेरफेर गरेको छ । अत्यावश्यक कामको लागि दुई पाङग्रे तथा चार पाङग्रे साना सवारीहरू जोर गते जोर नम्बर भएका र बिजोर गते बिजोर नम्बर भएकाहरू सञ्चालन गर्न पाउने भएपछि नागरिकलाई केही सहज हुने भएको छ ।
सरकारी कार्यालयहरूबाट प्रदान हुँदै आएका सेवा तथा स्थानीय तहमा रहेका कार्यालयहरू पनि कतिपय बन्द अवस्थामा थिए भने कतिपय आंशिक रूपमा खुलेका थिए । अब भने बार अनुसारको पालो लगाएर स्थानीय तहहरू समेत खुलाउन प्रशासनले निर्देशन दिएको छ । प्रजिअ खत्रीका अनुसार कुश्मा नगरपालिका र मोदी गाउँपालिका आइतबार, मङ्गलवार र बिहीबार, फलेवास नगरपालिका र जलजला गाउँपालिका सोमबार, बुधवार र शुक्रवार तथा पैयुँ गाउँपालिका, बिहादी गाउँपालिका र महाशिला गाउँपालिका शनिवार बाहेकका सबै दिन खुलाउन भनिएको छ ।