६ असार

पर्वत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद अर्जुनप्रसाद जोशीले मोदी गाउँपालिकामा सञ्चालित कोरोना अस्पतालमा अत्यावश्यक स्वास्थ्य सामाग्री प्रदान गर्नुभएको छ । आइतबार अस्पतालमै पुगेर जोशीले पल्स अक्सिमिटर, सर्जिकल मास्क, एननाइन्टी फाइप मास्क, सर्जिकल ग्लोब, केश फिल्ड, हेन्ड सेनीटाइजर, पिपिई सेटलगायतका महत्वपूर्ण स्वास्थ्य सामाग्री प्रदान गर्नुभएको हो । जोशीले ती सामाग्री अस्पतालका स्वास्थ्यकर्मी प्रकाश सुबेदीलाई हस्तान्तरण गर्नुभएको थियो ।

मोदी गाउँपालिकास्तरीय कोरोना अस्पताल मोदीको तिलाहार स्वास्थ्य चौकीको भवनमा सञ्चालन हुँदै आएको छ । उक्त स्वास्थ्य सामाग्री काँग्रेसका प्रभावशाली नेता जोशीको पहलमा नेपाल चिकित्सक संघका बरिष्ठ उपाध्यक्ष शिव श्रेष्ठले ब्यवस्थापन गरी पठाउनुभएको हो ।

अस्पताललाई प्रदान गरिएका सामाग्रीमा सर्जिकल मास्क एक हजार थान, एन नाइन्टीफाइप मास्क एक सय थान, सर्जिकल ग्लोब ४० थान, केश फिल्ड ५० थान, हेन्ड सेनीटाइजर २५ थान, पल्स अक्सिमिटर आठ थान र पिपिई रिजेबल ओरिजिनल दुई थान रहेको छ ।

यसअघि पनि पर्वत जिल्लाका विभिन्न भागमा स्वास्थ्य सामाग्री बितरण गर्दै आउनुभएका जोशीले जिल्ला प्रशासनमार्फत बितरण गर्न पनि उल्लेख्य स्वास्थ्य सामाग्री भित्राउनुभएको थियो ।