सतिश रेग्मी
असार २, २०७८
पर्वत : चार दिनदेखि भइरहेको अबिरल वर्षाका कारण पर्वतका विभिन्न ठाउँमा बाढी पहिरोले क्षति हुने क्रम खबढेको छ । कतिपय ठाउँमा यही कारण घर नै खतरामा पर्दा नागरिकहरु बासस्थानबाट बिस्थापित भएका छन् ।
वर्षाका कारण जिल्लाकै ऐतिहासिक तथा धार्मिक क्षेत्रमा रुपमा रहेको सेतीवेणाी धाम क्षेत्र सहित त्यहाँको बस्ती नै डुबानमा परेको छ । स्थानीय नागरिकका अनुसार पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको सिमानामा रहेको जिल्लाको बिहादी गाउँपालिका–६ मा रहेको सेतीवेणी बजार डुबानमा पर्दा त्यहाँका १० घर विस्थापित भएका छन । लगातारको वर्षाका कारण कालीगण्डकी नदीमा पानीको सतह धेरै वर्ष यताकै सबैभन्दा उच्च तहमा पुगेपछि मंगलबार बिहान चार बजेदेखि ती घरहरु डुबानमा परेका हुन । नदीको सतह बजारमा नै प्रवेश गरेपछि ती परिवार विस्थापित भएका हुन् । बाढीका कारण पवित्र शालिग्राम शिलामा निर्माण गरिएका विभिन्न भौतिक संरचनामा समेत आंशिक तथा पूर्ण क्षति पुगेको छ । कालीगण्डकी नदीको सतह उर्लिएपछि कालीगण्डकी जलविद्युत ‘ए’ का सबै ढोकाहरू खोलिएका छन् ।
यता महाशिला गाउँपालिकाका प्रवक्ता जीवन उचै ठकुरीका अनुसार त्यहाँ चार विस्थापित भएका छन् । उनका अनुसार वडा नं.–१ होश्राङदीको अर्गाउदीका पहल सिङ गुरुङको परिवार विस्थापित भएको छ । पाँच जना सदस्य रहेको उक्त परिवारलाई स्थानीय लक्ष्मीदय आधारभूत विद्यालयमा सारिएको छ । वडा नं.–३ बालाकोटको हिरुखर्कमा तीन जना सदस्य रहेको धनबहादुर आलेको परिवारलाई छिमेकीको घरमा, वडा नं.–५ लुंखु देउरालीको ढाडाखर्कमा पाँच जना परिवार सदस्य रहेको आस बहादुर गुरुङको परिवारलाई छिमेकीको घरमा र सोही ठाउँका टेकराम गुरुङको परिवारलाई पनि छिमेकीको घरमा आश्रय दिइएको छ । यस्तै, वडा नं.–२ भोक्सिङमा दुई घर, वडा नं.–५ लंखुका तीन घर र वडा नं.–४ पाखापानीका दुई घर गरी कुल सात घर बाढी पहिरोको उच्च जोखिममा रहेको अवस्था छ । ‘कहीँ पहिरोले कतै बाढीले घरहरु जोखिममा पारेको छ । कतिपय घरहरूमा पहिरो नै आएको अवस्था छ कतिपय घरमुनिबाट आएको पहिरोले घर नै झार्न सक्ने खतरा देखिएका सूचना आएका छन’ प्रवक्ता ठकुरीले भने, ‘मनसुनको सुरुमै यति धेरै वर्षा भएको छ । भूकम्पले हल्लाएका घरहरूमा लगातारको वर्षाले माटो गलाउँदा पहिरोका जोखिम झनै बढेको छ ।’ उता फलेवास नगरपालिका–३ शंकरपोखरीको रुग्दीमा पनि स्थानीय बुद्धि सागर रेग्मीको घर उच्च जोखिममा परेको छ । घरको तल्लो भागबाट घरको भित्तासम्मै पुगेको पहिरोका कारण घर बग्ने खतरामा परेको हो । वर्षा भएको बेलामा घरमा बस्न नै खतरा भएकाले वर्षाको बेलामा छिमेकीकोमा आश्रय दिनुपर्ने अवस्था आएको रेग्मीले बताए ।
ठाउँ ठाउँमा गएको पहिरो तथा बाढीका कारण जिल्लाका विभिन्न ठाउँहरूमा विद्युत् लाइनमा पनि क्षति पुगेको नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रले जानकारी दिएको छ । प्रसारण तथा वितरण लाइनमा रूख ढलेर तथा पहिरो गएर खम्बाहरू ढल्नुका साथै तार पनि चुँडिएर क्षति पुगेको हो । केन्द्रका अनुसार मोदी गाउँपालिका–१ भूकमा ३३ केभी लाइनमा, महाशिला गाउँपालिका–६ फलामखानीमा, वडा नं.–२ भोक्सिङमा ११ केभी लाइनको खम्बाहरू पहिरोले ढलाएको छ । यस्तै, बिहादी गाउँपालिकामा पनि विद्युतीय लाइनमा क्षति पुगेको छ ।