सतिश रेग्मी
जेठ १९, २०७८
पर्वत : केही दिन अगाडिसम्म कोभिड–१९ सङ्क्रमणको अवस्था उच्च बन्दै गएको पर्वतमा पछिल्ला केही दिन यता सङ्क्रमण घटेको छ ।
देशभरि नै संक्रमितहरुको सङ्ख्या कम हुँदै गएको बेलामा पर्वतमा पहिलेको तुलनामा करिब आधा भन्दा बढीले कमी आएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) का सूचना अधिकारी तथा स्वास्थ्य कार्यालय पर्वतका तथ्याङ्क अधिकृत प्रवीण भण्डारीले बताए ।
कोरोना कहरको दोस्रो लहर सुरु भएपछि पहिलो पटक जिल्लामा चैत पाँच र छ गते बेनी अस्पताल म्याग्दीमा गरिएको परीक्षणमा पर्वतका १÷१ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको थियो । त्यसपछि स्वाब परीक्षणको दायरा समेत बढ्दै गएपछि संक्रमितहरुको सङ्ख्या दिनहुँ जसो उकालो लाग्दै गएको थियो । सबैभन्दा बढी एकै दिन गत जेठ दुई गते जिल्लाका विभिन्न स्थानीय तहमा गरेर कुल ९४ जनामा सङ्क्रमणको पुष्टि भएको थियो । त्यस्तै जेठ १४ मा ९३ जनामा सङ्क्रमण रहेको थाहा भएको थियो । दोस्रो लहर सुरु भएपछि एक जनामा सङ्क्रमण देखिएर उकालो लागेको कोरोना कहर बढीमा ९४ जनासम्म पुग्यो । तर पछिल्ला पाँच दिनयता सङ्क्रमितहरू थपिने क्रम करिब ५० प्रतिशतले घटेको छ ।
डिसीसीएमसीमा रहेको तथ्याङ्क अनुसार जेठ १४ मा ४० जनामा, १५ मा ३० जनामा, १६ मा ५४ जनामा, १७ मा ४६ जनामा र १८ मा २६ जनामा सङ्क्रमणको पुष्टि भएको छ । यसरी हेर्दा एकै दिन ९४ जनासम्म सङ्क्रमित भेटिने गरेको पर्वतमा त्यो सङ्ख्या घटेर पछिल्लो दिन २६ मा झरेको छ ।