१२ जेठ

जोमसोम । कोरोनाको दोस्रो लहरसँगै हिमाली जिल्ला मुस्ताङमा कोरोनाका कारण एक महिना नपुग्दै आमापछि छोराको मृत्यु भएको छ । कोरोनाबाट मुस्ताङको घरपझोङ -४ जोमसोममा मृत्यु भएकी ७२ वर्षीया महिलाको ४३ वर्षीय कान्छा छोरा कर्माछिरिङ गुरुङको पोखरास्थित चरक मेमोरियल अस्पतालमा उपचार गर्ने क्रममा सोमबार मृत्यु भएको घरपझोङ गाउँपालिकाले जनाएको छ।

मुस्ताङमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएकी ७२ महिलाको गत वैशाख १६ गते राति जोमसोम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । कोरानाबाट मृत्यु भएकी तिनै महिलाको कान्छा छोरा गुरुङको त्यस लगत्तै जोमसोम अस्पतालमा गत वैशाख २० गते कोरोना एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि थियो ।

कोरोनासहित स्वास्थ्य अवस्था असहज महशुस गरेका उनी आफै पोखराको चरक मेमोरियल अस्पतालमा भर्ना भएका थिए । अस्पताल भर्ना भएको दुई हप्तामा उनको मृत्यृ भएको हो । कोरोनाबाट मृत्यु भएका गुरुङको जेठ २ गते पुनः पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । घरपझोङ गापाका स्वास्थ्य संयोजक कर्णबहादुर थकालीका अनुसार श्वाश/प्रश्वास तथा निमोनियाका कारण आमाको मृत्यु भएको २५ दिनपछि कोरोनाका कारण छोराको मृत्यु भएको हो ।

स्वास्थ्य संयोजक थकालीका अनुसार लामो समयदेखि जापानमा बस्दै आएका गुरुङ दम्पती २ महिना अघि मात्र मुस्ताङ आएका थिए ।