१० जेठ

नेकपा एमालेको स्थायी कमिटी आज पनि बस्ने भएको छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित निवासमा दिउँसो १२ बजेपछि बस्ने गरि बैठक बोलाएका हुन् ।

बैठक पार्टीका आन्तरिक विवाद, बजेटको तयारी र पछिल्ला राजनीतिक घटनाक्रममा केन्द्रित हुने नेताहरुले बताएका छन् । यसअघि शनिबार बसेको स्थायी कमिटीले माधव नेपाल पक्षका ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरुलाई सोमबार बिहानसम्म स्पष्टीकरण बुझाउन भनिएको थियो ।

बैठकले उनीहरुमाथि थप कारवाही गर्ने सम्भावना रहेको छ । त्यस्तै पार्टी विवाद समाधानका लागि गठित वार्ता टोलीको सन्दर्भमा समेत छलफल हुने बताइएको छ ।