९ जेठ
पर्वत । कुश्मा नगरपालिका-१, पाङवासीले कोरोना संक्रमण भए/नभएको थाहा पाउन स्वाब दिएको १० दिन बितिसकेको छ। तर, अहिलेसम्म परीक्षण नतिजा थाहा पाउन सकेका छैनन् ।
सङ्क्रमणदर बढ्दै गएपछि पाङमा वैशाख ३१ गते स्थानीय ७७ जना नागरिकको स्वाब संकलन गरेर जाँचका लागि पोखरा पठाइएको थियो। तर, अहिलेसम्म पनि रिपोर्ट नआउँदा गाउँमा सङ्क्रमण फैलिएर अवस्था भयावह बन्नसक्ने चिन्ता थपिएको छ।
गाउँमा सङ्क्रमित फेला परेपछि उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरूको स्वाब लिएर परीक्षणका लागि पठाएको हो। तर, उनीहरूमा सङ्क्रमण रहे/नरहेको पुष्टि नहुँदा गाउँको अवस्था जोखिमपूर्ण हुनसक्ने देखिएको वडा सदस्य वीरेन्द्र रिजालले बताए।
‘स्वाब संकलन गरेर पठाएको १० दिन भयो। पोखराबाट अहिलेसम्म पनि परीक्षणको रिपोर्ट आएको छैन। यो देशको सिस्टम के हो? यसरी पनि कोरोना नियन्त्रण सम्भव छ?’ उनले भने, ‘शंका लागेपछि स्वाब दिएकाहरूको नतिजा नआउँदा उनीहरू कति दिन घरमा थुनिएर एक्लै बस्ने? सबै आ–आफ्ना काममा लागेका छन्। राज्यको यो लाचारीपनका कारण गाउँ नै खतरामा परेको छ।’
कुश्मा नगरपालिकाका स्वास्थ्य संयोजक उमाकान्त सापकोटाले फेसबुकमा स्ट्याटस नै राखेर यस बारेमा सरकारले जवाफ दिनुपर्ने बताएका छन्।
यसबारेमा बुझ्नका लागि स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं गण्डकी कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्मालाई फोन गर्दा उनको नम्बरमा सम्पर्क हुन सकेन।
वैशाख ३१ गते लिइएको स्वाब परीक्षणको लागि उही दिन पोखरा पठाइएको र पोखरामा अत्यधिक लोड भएका कारण वैशाख ६ गते परीक्षणका लागि काठमाडौँ पठाइएको जवाफ आएको उनले लेखेका छन्
जेठ महिना लागेसँगै हरेक दिन जसो पोखरामा फोन गर्दा ‘आज आउँछ-भोलि आउँछ’ भन्दै टारिएको र पछि मात्र काठमाडौँ पठाइएको जानकारी दिइएको सापकोटाले जानकारी दिएका छन्।








