२८ वैशाख
पर्वत । पर्वत प्रहरीले अक्सिजनको २६ थान ग्यास सिलिण्डर संकलन गरी जिल्ला अस्पताल पर्वतलाई हस्तान्तरण गरेको छ । कोरोना भाइरसको संक्रमण तीव्र बनेसँगै अक्सिजन सिलिण्डरको अभाव हुन थालेपछि प्रहरीले सिलिण्डर संकलन गर्न थालेको हो । जिल्ला प्रहरी कार्यालय पर्वतले विभिन्न संघ संस्थाहरुबाट ११ थान भरी र १५ थान खाली ग्यास सिलिण्डर संकलन गरेको जनाएको छ ।
विश्वव्यापी रुपमा फैलीरहेको नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमण जिल्लामा फैलिएको र उपचारार्थ विरामीहरुलाई सहज होस् भन्ने उद्देश्यले ग्यास सिलिण्डर संकलन गरी हस्तान्तरण गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक प्रदिप पौडेलले जानकारी दिनुभयो ।
पौडेलका अनुसार श्री यति धौलागिरी हाडवयर्सबाट १० थान खाली र ६ थान भरी सिलिण्डर, दि क्लिफ नेपाल (बन्जी)बाट २ थान भरी ग्यास लिसिण्डर, सुग्रित ईञ्जिनियरिङ वर्क सपबाट २ थान भरी र २ थान खाली, श्री कृष्ण फर्निचर एण्ड ग्रिल उद्योगबाट १ थान खाली र कालिका वर्कसपबाट २ थान खाली र १ थान भरी ग्यास सिलिण्डर संकलन गरिएको छ । सम्बन्धित संस्था तथा कम्पनीहरुलाई पछि फिर्ता गर्ने गरी संकलन गरीएको उहाँको भनाई छ ।
उक्त ग्यास सिलिण्डर मंगलवार एक कार्यक्रमको आयोजना गरि प्रमुख जिल्ला अधिकारी देवि पाण्डे खत्री, कुश्मा नगरपालिका मेयर रामचन्द्र जोशी र जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी उपरिक्षक विश्वराज अधिकारी सहितको संयुक्त टोलीले जिल्ला अस्पताल पर्वतका अध्यक्ष गोविन्द पहाडी लाई हस्तानतरण गरेको प्रहरीले जनाएको छ ।








