२४ वैशाख

काठमाडौं । वाग्मती प्रदेश अन्य समूहतर्फ रिक्त भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि शुक्रबार (वैशाख २४ गते) उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यतालिका छ । तर, सत्तारुढ दल नेकपा एमालेले आफ्नो उम्मेदवार बिहीबार साँझसम्म टुङ्ग्याएको छैन ।

२०७४ सालको निर्वाचनमा माओवादी केन्द्रका तर्फबाट नेता रामबहादुर थापा ‘बादल’ निर्वाचित भएको क्षेत्र हो यो । माओवादी केन्द्रबाट निर्वाचित बादल एमाले प्रवेश गरेपछि रिक्त भएकोले उपचुनाव हुन लागेको हो । खाली भएको ठाउँमा एमालेले पुनः बादललाई निर्वाचन लडाउन चाहेको छ । तर, स्वयं बादल भने उपचुनाव लड्न तयार नभएको नेताहरुले बताएका छन् ।

एमाले प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार बिहीबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा राष्ट्रियसभाको उपनिर्वाचनबारे छलफल भएको थियो । तर, उम्मेदवारको टुङ्गो भने लाग्न सकेन ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता ज्ञवालीले पार्टीले उठाएको उम्मेदवारको जीत सुनिश्चित हुने गरी जनप्रतिनिधि र मतदातासँग छलफल गर्ने निर्णय भएको जानकारी दिए ।

वालुवाटार स्रोतका अनुसार स्थायी कमिटी बैठकमा राष्ट्रियसभाको उपनिर्वाचनमा वाग्मती प्रदेशमा पुनः बादललाई उठाउने प्रस्ताव प्रस्तुत भएको थियो । तर, स्वयं बादलले आफू उपचुनावमा उठ्नका लागि चुनाव जित्ने निश्चित हुनुपर्ने बताए । नजित्ने चुनाव नलड्ने उहाँको भनाई छ ।