१३ वैशाख
पर्वत। कोरोना कोरोना संक्रमणको दोस्रो लहर आएसँगै पर्वत सदरमुकाम कुस्मा बजार सुनसान बन्दै गएको छ। मुलुक विभिन्न ठाउँमा दैनिक रूपमा संक्रमण र मृत्यु हुनेको संख्या बढ्दै गएपछि बजार सुनसान बनेको हो।
संक्रमणको जोखिमका कारण कुस्मा नगरपालिकाले वैशाख १७ सम्म सबै शैक्षिक संस्थामा भौतिकरूपमा उपस्थित भएर पठनपाठन गर्न नपाउने निर्देशन दिएपछि अधिकांश अभिभावकहरू सन्तानलाई लिएर गाउँ फर्किएका छन्।
सदरमुकाममा ड्राइभिङ स्कुल सञ्चालन गर्दै आएका आरसी पौडेलले पछिल्ला केही दिनमा सिक्न आउनेमा ५० प्रतिशत कमी भएको बताए। सदरमुकाममै गणपति डिपार्टमेन्ट स्टोर सञ्चालन गर्दै आएका राजुकुमार बस्नेत पनि पछिल्ला केही दिनयता पसलमा मानिसको उपस्थिति घट्दै गइरहेको बताउँछन्। अघिल्लो वर्षको चैतमा भएको लकडाउनको बेला पसलमा सुरक्षा सतर्कता अपनाएर आउन अनुरोध गर्दा समेत अटेर गरेको भोगेका उपभोक्ताहरू आफैँ सचेत भएको बताउँछन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब निरीक्षक कृष्णबहादुर खड्का पनि केही दिन अगाडिसम्मको तुलनामा पछिल्ला केही दिनमा सवारीको चाप कम हुँदै गएको बताउँछन्। कुस्माको शिवालय चोकमा लामो तथा छोटो दूरीका सवारीहरूको भीड बाक्लो गरी हुने गरेकोमा अहिले सवारीहरू नै फाटफुट मात्रामा देखिन थालेको उनको भनाइ छ।थाहाखबरबाट








