३ वैशाख

पोखरा । पोखरामा कोरोना संक्रमितको संख्यामा आश्चर्यजनक रुपमा वृद्धि हुँदै गएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको कोभिड सम्बन्धी दैनिक प्रेस विज्ञप्ति अनुसार पोखरा महानगरपालिका पुनः कोरोना संक्रमणको हटस्पटका रुपमा देखा पर्दै गएको हो ।

निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार पछिल्लो तीन दिनमा कास्कीका ४७१ जनाको परीक्षण गरिएकोमा पोखरा महानगरका ९४ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितहरु महानगरका सबै जसो वडाका महिला पुरुष छन् ।

यस्तै तनहुँका १८ जनाको परीक्षणमा ३ जना, बाग्लुङका ६३ जनाको परीक्षणमा १० जना, नवलपुरका २२ जनाको परीक्षणमा ३ जना, स्याङ्गजाका ३५ जनाको परीक्षणमा ५ जना, गोरखाका ३३ जनाको परीक्षणमा १ जना, पर्वतका ४९ जनाको परीक्षणमा १ जना र म्याग्दी जिल्लाका ३६ जनाको परीक्षणमा १ जनाको रिपोर्ट पोजेटिभ आएको निर्देशनालयले जनाएको छ ।

पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १७ हजार ८४ पुगेको छ । जसमा ४६६ सक्रिय संक्रमित छन् ।