३ वैशाख

काठमाडौँ । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले सांसदले फ्लोर क्रस गरेर महेन्द्रबहादुर शाहीको पद जोगाइ दिएका छन् । मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश सभामा विश्वासको मत मागेकोमा २२ मत पाएका हुन् । उनलाई नेकपा एमालेका सांसदहरूले समेत मत दिएका छन् ।

३९ सदस्यीय प्रदेशसभाको विश्वास पाउन २० प्रदेशसभा सदस्यको मत आवश्यक पर्नेमा शाहीले २२ मत पाएका हुन् । त्यहाँ उनको दल नेकपा माओवादी केन्द्रको जम्मा  १२ जना सांसद थिए ।

यस्तै उनलाई कर्णाली प्रदेश कांग्रेसले समेत सघाएको छ । त्यहाँ कांग्रेसका ६ सांसद छन् । एक सदस्य रहेको राप्रपा भने कुनै पक्षमा खुलेन ।

यसरी शाहीलाई साथ दिनेमा प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापा छन् । ज्वाला माधव नेपाल पक्षीय एमालेको कर्णाली प्रदेशका संयोजक हुन् ।