१ चैत्र

पर्वत । पर्वतको महाशिला गाउँपालिकाले पञ्जिकरणसम्बन्धी व्यक्तिगत घटना दर्ता अनलाइनबाट शुरुवात गरेको छ । गाउँपालिकाका ६ वटै वडामा अनलाईन मार्फत व्यक्तिगत घटना दर्ता प्रणालीको शुरुवात भएको हो । गाउँपालिकाको ५ वटा वडामा अनलाईन मार्फत व्यक्तिगत घटना दर्ता प्रणालीको शुरु भईसकेको भएपनि वडा नम्बर ५ मा भने मंगलबार अनलाइन मार्फत व्यक्तिगत घटना दर्ता शुरु गरीएको छ ।

यो सँगै गाउँपालिकाले सबै वडाबाट अनलाईन मार्फत व्यक्तिगत घटना दर्ता प्रणालीको शुरुवात गरेको हो । गाउँपालिकाको सबै वडामा अनलाइन दर्ता प्रणालीको विकास गराई सेवा प्रवाह शुचारु गरिएको गाउँपालिकाका प्रवक्ता जिवन उचै ठकुरीले जानकारी दिनुभयो । व्यक्तिगत घटना दर्ताका लागि आउने सेवाग्राहीलाई छिटो र छरितो तरिकाले अनलाइन प्रणालीमा घटना दर्तालाई व्यवस्थित बनाउनका लागि अनलाइन घटना दर्ता शुरु गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम उपाध्यायले बताउनुभयो ।

गाउँपालिकाको सबै वडा कार्यालयमा इन्टरनेट र सफ्टवेयरको विकास गराई अनलाइन प्रणालीको शुरुवात गरेको पालिकाले जनाएको छ । हालसम्म व्यक्तिगत घटना दर्ताको काम हातले लेखी ढड्डामा उतारी प्रमाणपत्र प्रदान गर्ने प्रचलन रहेकामा प्रविधिको विस्तार उपलब्धतालाई मध्यनजर गरी अनलाइनमा नै दर्ता गराई प्रिन्ट गरी प्रमाणपत्र प्रदान गर्दा सेवाग्राही र कर्मचारी दुवैलाई सहज हुने उपाध्यायको बिश्वास छ ।

अनलाइनमा घटना दर्ता गराउँदा दर्ता प्रमाण हराएमा वा केही भएमा पुरानो प्रणाली अन्तर्गत खोजी राख्न समस्या नहुने र सजिलै कम्प्युटरका माध्यमबाट प्रदान गर्न सकिनेछ । सरकारले सेवाग्राहीलाई छिटोछरितो तरिकाले सेवा प्रदान गर्ने उद्देश्यले २०७२ सालदेखि पञ्जीकरणसम्बन्धी व्यक्तिगत घटना दर्ता अनलाइन प्रक्रियामार्फत गर्ने घोषण गरेको भएपनि गाउँपालिकामा इन्टरनेट तथा पूर्वाधारका कारण अनलाइन प्रणाली शुरु हुन सकेको थिएन ।

गाउँपालिकाले प्रत्येक वडामा भौतिक पूर्वाधार निर्माण गरी इन्टरनेट विस्तार तथा सफ्टवेयरको काम गरी वडाको प्रत्येक कर्मचारीलाई तालीम दिएर यो सेवा सञ्चालन गरेको गाउँपालिका अध्यक्ष राजु पौडेलले जानकारी दिनुभयो । अनलाइन घटना दर्ता प्रणालीबाट जन्म, मृत्यु, विवाह, सम्बन्ध बिच्छेद, बसाइँसराइ जस्ता व्यक्तिगत घटनाको व्यवस्थापन एवं नियन्त्रण तथा समाजिक सुरक्षा कार्यक्रम सञ्चालन व्यवस्थापनका लागि सहज हुनेछ । अनलाइनमार्फत फाराम भरी टोकन नम्बर तोकिएका समयमा सम्बन्धित वडा कार्यालयमा प्रमाणसहित पेश गर्न सकिने र सफ्टवयरमार्फत प्रत्येकलाई नदोहोरिने गरी व्यक्तिगत दर्ता नम्बर उपलब्ध हुने व्यवस्था रहेको छ ।