२८ फागुन
पर्वत। पर्वतमा सेना दिबसको अबसरमा वृद्धाश्रममा खाद्यान्न वितरण गरिएको छ । हरेक वर्ष महाशिवरात्रिका दिनमा पर्ने नेपाली सेना दिवसको अवसरमा पारी केवलजंग गुल्मले मोदीवेणीमा रहेको वृद्धाश्रममा खाद्यान्न वितरण गरेको हो ।
परिवार छोडेर वृद्धाश्रममा बस्दै आएका ज्येष्ठ नागरिकहरूलाई खाद्यान्न संकट पर्न नदिन दिवसको अवसरमा वृद्धाश्रममा रहेका १२ जना ज्येष्ठ नागरिकलाई खाद्यान्न वितरण गरीएको हो । वृद्धाश्रममा रहेका जेष्ठ नागरीकलाई चामल, दाल, तेल, चिनी, नुन, बिस्कुट लगायतका खाद्यान्न वितरण गरिएको गुल्मपति सेनानी रमेश थापाले बताउनुभयो ।
उहाँले सेना दिवसको अवसर पारेर गुप्तेश्वर गुफामा रहने र अन्य ठाउँका केहीलाई पनि खाद्यान्न सहयोग गरेको बताउनुभयो । सेना दिवसको पूर्वसन्ध्यामा तीन दिन अगाडिबाट नै जिल्लाका विभिन्न स्थानमा रहेका धार्मिक स्थलहरूमा सेनाले सरसफाइ गरेको छ । सैनिक नागरिक सम्बन्ध स्थापनाका लागि सेनाले विभिन्न काम गर्दै आइरहेकोमा यो कामले पनि नागरिक र सैनिकको बीच सरल सम्बन्ध बन्ने अपेक्षा सेनाले गरेको सह सेनानी रघुनाथ रुपाखेतीले बताउनुभयो ।
नृसिंह मन्दिर संरक्षण तथा धार्मिक पर्यटकीय विकास समितिका अध्यक्ष केशवदास वैरागीका अनुसार घाटसम्म पुग्ने बाटोलाई सजिलो बनाउने, दिव्य धाम र आसपासको क्षेत्रमा सरसफाइ गर्ने लगायतका काम सेनाले गर्दै आएको छ ।








