५ माघ

नेपालमा कोरोना भाइरसको नयाँ प्रजाति भित्रिएको पुष्टि भएको छ । पुस पहिलो साता बेलायतबाट आएका तीन जनामा कोरोना भाइरसको नयाँ प्रजाति देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत पुष १३ मा बेलायतबाट आएका ६ जनामा कोरोना संक्रमण भेटिएको थियो । उनीहरमा नयाँ प्रकारको कोरोना हो वा होइन भन्ने पुष्टि गर्नका लागि हङकङ प्रयोगशालामा नमुना पठाइएको र उनीहरुमध्ये ३ जनामा नयाँ प्रकारको कोरोना देखिएको मन्त्रालयले जनाएको छ ।

नयाँ प्रकारको कोरोना देखिएका २८ वर्षीय महिला र ३२ वर्षीय पुरुषमा पुन पीसीआर परिक्षण गर्दा नेगेटिभ देखिएपनि ६७ वर्षीय पुरुषको अझै पनि कोरोना पोजेटिभ देखिएको तर उनमा कुनै लक्षण नदेखिएको पनि मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गोतमले जानकारी दिएका छन् ।